काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा रियलले ओसासुनासँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा रियलले अंक बाड्नु परेको हो ।
खेलको ४२ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ५५ औं मिनेटमा किकेले गोल गर्दै ओसासुनालाई १-१ को बराबरीमा ल्याए ।

खेलको ७८ औं मिनेटमा गार्सियाले रातो कार्ड पाएपछि ओसासुना १० खेलाडीमा समेटिएको थियो ।
यस्तै खेलको ७९ औं मिनेटमा रियलका करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्न चुकेपछि रियल जित निकाल्न असफल भयो ।
यस बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
रियल ७ खेलमा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानको बार्सिलोनाको १९ अंक नै रहेको छ ।
ओसासुना १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।