काठमाडौं । लियोनल मेस्सी र केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सेली लिग वानमा जित निकालेको छ ।
शनिबार राति मेस्सी र एमबाप्पे प्रेरित पीएसजीले नाइसलाई २–१ ले हराएको हो ।
मेस्सीले २९ औं मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै नाइसका गेटन लाबोर्डेले खेल बराबरीमा ल्याएका थिए ।
बराबरीतर्फ उन्मुख खेलमा बैकल्पिक खेलाडीको रुपमा बेन्चबाट मैदान छिरेका एमबाप्पेले गोल गर्दै पीएसजीलाई जित दिलाए । जितसँगै पीएसजी लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । सबै प्रतियोगितामा पीएसजीको यो लगातार सातौं जित हो ।
क्रिस्टोफ गाल्टियरले क्लब सम्हालेपछि पीएसजीले हार ब्यहोरेको छैन । उनले गत सिजन नाइसलाई सम्हालेका थिए । मौरिसियो पोचिटिनोलाई बर्खास्त गरेपछि गाल्टियरलाई पीएसजीले मुख्य प्रशिक्षक बनाएको हो ।
पीएसजीले ९ खेलबाट २५ अंक जोडेको छ । नाइस ८ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।