इलाम । तेस्रो खुदुनाबारी गोल्डकपको उपाधिको लागि घरेलु टोली जुनतारा फुटबल क्लब र धनकुटा भिड्ने भएका छन् ।
शुक्रबार भएको अन्तिम सेमीफाइनल खेलमा पथरी शनिश्चरे महिला फुटबल क्लबको चुनौती १–० ले पन्छाउँदै धनकुटाले घरेलु टोलीसंगको उपाधि भेट पक्का गरेको हो ।
धनकुटालाई उपाधि होडमा प्रवेश गराउन कप्तान अन्जना थुलुङले निर्णायक गोल गरिन् । खेलको दोस्रो हाफमा पाएको पेनाल्टीको अवसरलाई थुलङले गोलमा परिणत गरिदिएपछि धनकुटाले फाइनलको यात्रा तय गरेको हो ।
मोरङले दोस्रो हाफको ३१ मिनेटमा धनकुटाकी खेलाडी मेनुका राईलाई डि बक्स एरियामा लडाएपछि धनकुटाले पेनाल्टीको अवसर पाएको थियो । खेलमा धनकुटाकी रजिना मगर वुमन अफ दि म्याच घोषित भइन् ।

यसअघिको पहिलो सेमीफाइनलमा उदयपुरमाथि ४–१ गोल अन्तरको जित निकाल्दै जुनतारा फाइनल पुगेको हो । अर्जुनधारा नगरपालिका–३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा जारी गोल्डकपको फाइनल खेल १६ गते आइतबार हुनेछ ।
विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी पाउने छ । अर्जुनधारा नगरपालिका मुख्य प्रर्वद्धक रहेको गोल्डकपको आयोजक च्यारिटी युथ क्लब र सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ ।
विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भएको छ ।
