प्रकाश बन्जारा ।
विराटनगर । गण्डकी प्रदेशको पोखरामा असोज २८ गतेबाट सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश-१ को छनोट अन्तर्गत पुरुष फुटबलको उपाधि मोरङले जितेको छ ।
विराटनगरस्थित सहिद रंगशालामा भएको फाइनलमा सुनसरीलाई २-० गोलले हराउँदै मोरङले उपाधि जितेको हो ।
निकै प्रतिस्पर्धा खेलमा पहिलो हाफमा कुनै टिमबाट गोल हुन सकेन । दुवै टोलिले खेलमा राम्रा अवसर पाए पनि गोल भने गर्न नसके पछि पहिलो हाफ बराबरीमा खेलेको थिए ।
दोस्रो हाफमा भारी पानी परे पछि दुवै टिमले भने जस्तो खेल खेल्न सकेन । तर, खेलको ६२ र ७३ औं मिनेटमा बिक्रम धिमालले गोल गर्दै मोरङलाई उपाधि दिलाए ।
विजयी खेलाडीहरुलाई सामाजिक विकास मन्त्री माननीय राजन राई लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।
यस्तै तेस्रो स्थानको लागि भएको खेलमा भोजपुर विजयी भएको छ । खेलमा भोजपुरले संखुवासभालाई २–१ ले हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।