धनगढी । धनगढीमा जारी चौंथो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल अन्तर्गत बिहीबार पहिलो सेमीफाइनल खेल हुँदैछ ।
धनगढी रंगशालामा हुने सेमिफाइनलमा फाइनल प्रवेशका लागि लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।
खेलको समय परिवर्तन गरिएको छ । सेमिफाइनल खेल ठिक ३ बजे सुरु हुने आयोजक पिएफए स्पोर्टस क्लब अत्तरियाले जनाएको छ ।
लुम्बिनीले समूह चरणमा मधेस प्रदेशलाई ४-२ गोल अन्तरले हराउदै सेमिफाइनलमा स्थान बनाएको थियो भने गण्डकीले सुदुरपश्चिम निलोलाई सडन डेथमा पाखा लगाउँदै लुम्बिनीविरुद्ध सेमिफाइनल भेट पक्का गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल असोज १५ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ५ लाख उपविजेताले नगद ३ लाख प्राप्त गर्नेछन् ।
विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।
पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगितालाई सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्ले समन्वय र सहयोग गरेको छ ।