इलाम । धनकुटा महिला फुटबल क्लब झापाको अर्जुनधारामा जारी खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अन्तिम क्वाटरफाइनलमा बुधबार सुनसरी जिल्ला फुटबल संघलाई ४–० गोल अन्तरले पराजित गर्दै धनकुटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
धनकुटाले पहिलो हाफमा नै ४ गोल गरेको थियो । खेल सुरु भएको ४ मिनटमा अन्जना थुलुङ राईले गोल गर्दै अग्रता दिलाइन् । १६ औं मिनेटमा अन्जनाले व्यक्तिगत दोस्रो गोल गरिन् । २१ औं मिनेटमा रजिना मगरले तेस्रो गोल गरिन् ।
त्यस्तै टिमलाई ४–० गोलको अग्रता दिलाउन धनकुटाका लागि २५ औं मिनेटमा सन्ध्या रम्तेलले चौंथो गोल गरिन् । आजको खेलमा टिमको लागि २ गोल गर्ने धनकुटाकी अन्जना थुलुङ राई उत्कृष्ट खेलाडी घोषित भईन् । उनले ट्रफि सहित नगद १ हजार हात पारिन् ।
गोल्डकपको पहिलो सेमिफाइनलमा बिहीबार आयोजक जुनतारा महिला फुटबल क्लब अर्जुनधारा र गाईघाट फुटबल क्लब उदयपुरबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ ।