काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
मञ्चका सचिव अन्जन खड्काले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत बंगलादेशविरुद्धको खेलपछि पोस्ट म्याच कन्फरेन्सले हुमागाईले खेलकुद पत्रकारप्रति आपत्तिजनक प्रस्तुत हुँदै पदीय मर्यादाविपरीत कार्य गरेका थिए । उनले पत्रकारलाई आर्थिक सहयोगको प्रस्ताव समेत गरेका थिए ।
'नेपाल र बंगलादेशबीच २०७९ असोज ११ गते दशरथ रंगशालामा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलपछि आयोजित 'पोस्ट म्याच कन्फ्रेन्स' मा भएको घटनाप्रति नेपाल खेलकुद पत्रकार मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त पोस्ट म्याचमा नेपाली राष्ट्रिय टिमका कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंको प्रस्तुति अत्यन्तै गैरव्यावसायिक, गैरजिम्मेवार र नितान्त निम्न सोचको रहेको छ । त्यस क्रममा प्रशिक्षक हुमागाईं नेपाली खेलकुद पत्रकारप्रति आपत्तिजनक रूपमा प्रस्तुत हुनु पदीय मर्यादाविपरीत रहेको मञ्चको ठम्याइ छ । मञ्च परिवार प्रशिक्षक हुमागाईंको उक्त व्यवहारप्रति घोर भर्त्सना गर्दछ,' ध्यानाकर्षण पत्रमा भनिएको छ, 'प्रशिक्षक हुमागाईंले मञ्चलाई आर्थिक सहयोग प्रदान गरेको दाबी गरेका छन् । तर मञ्च हुमागाईंबाट त्यस्ता कुनै पनि सहयोग नलिएको प्रस्ट पार्न चाहन्छ । हुमागाईंले मञ्चलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने बताउनु भएको थियो । मञ्चले यस प्रकारको व्यक्तिगत सहयोग यसअघि कहिले पनि स्वीकार गरेको छैन र भविष्यमा पनि गर्ने छैन ।'
बंगलादेशविरुद्धको खेलमा नेपालले ३-१ को जित निकालेको थियो । नेपालको जितमा अन्जन विष्टले ह्याट्रिक गरेका थिए ।
'प्रशिक्षक हुमागाईंले कार्यक्रमका क्रममा नेपाली खेल पत्रकारमाथि निराधार आरोप लगाउँदै गलत धारणा पनि प्रस्तुत गर्नुभएको छ । मञ्च उहाँको निन्दनीय प्रस्तुति र दाबीको अखिल नेपाल फुटबल संघ (एन्फा) को ध्यानाकर्षण गर्न चाहन्छौं । मञ्चका लागि यस प्रकारको व्यवहार पूर्णतः अस्विकार्य रहेको जनाउँदै हुमागाईंलाई आवश्यक कारवाही गर्न माग पनि गर्दछौं । भविष्यमा मञ्चप्रति यस्ता कुनै प्रकारको व्यवहार नगर्न चेतावनी पनि दिन्छौं,' ध्यानाकर्षण पत्रमा भनिएको छ ।
