इलाम । नेपालमा फुटबल प्रतियोगिताले निरन्तरता पाउँन सक्दैन । राष्ट्रिय स्तरको गोल्डकप देखि टोलकपसम्म ३ दशक पार गरेका प्रतियोगिता सिमित मात्र छन् । तर, इलामको उत्तरी क्षेत्र पर्यटकीय गाउँपालिका सन्दकपुर-५ जमुनामा विगत ३५ वर्ष देखि कागे गोल्डकप फुटबल प्रतियोगिता निरन्तरता हुँदै आएको छ । १० वर्षे जनयुद्ध होस् वा कोभिड महामारी कागे गोल्डकप रोकिएन् ।
आयोजक समितिका अध्यक्ष उमेश गुरुङ इलाममा आयोजना सुरु भएको देखि निरन्तर आयोजना भएको एक मात्र प्रतियोगिता कागे गोल्डकप रहेको बताउँछन् ।
‘२०४४ साल देखि निरन्तर कागे गोल्डकप हुँदै आएको छ । जनयुद्धको समय होस् वा कोभिड महामारी कागे गोल्डकप रोकिएन्,’ गुरुङले भने,‘कोभिडको समयमा स्वास्थ्य जोखिमका कारण पनि बाहिरका टिमहरुलाई बोलाइएन् वडा स्तरिय भए पनि प्रतियोगिता आयोजना गरिएको थियो ।’
पछिल्लो इलाम सदरमुकाममा आयोजना हुने माईभ्याली गोल्डकपपछिकोसबैभन्दा लोकप्रिय प्रतियोगिता कागे गोल्डकप नै हो । माईभ्याली समेत २०७६ को संस्करणपछि आयोजना हुन सकेको छैन् ।

कागे गोल्डकप फुटबल प्रतियोगिता मात्र नभएर खेलाडी उत्पादनको थलो समेत रहेको गुरुङ बताउँछन् ‘कागे गोल्डकप फुटबल प्रतियोगिता मात्र नभएर खेलाडी उत्पादनको थलो र नेपाल भारत सम्बन्ध विस्तारको माध्यम समेत हो । राष्ट्रिय टोलीबाट खेलेका छिरिङ गुरुङ र दर्शन गुरुङ कागे गोल्डकपबाट स्थापित भएको नाम हो । नेपाली फुटबलका क्लासिक डिफेन्डर लोकबन्धु गुरुङ सहित धेरै ए, बी र सी डिभिजनका खेलाडीहरु उत्पादन गर्न सफल भएका छौ ।’ उनले भने ‘ नेपाल र भारतका टोलीहरुको सहभागिता हुने भएकाले फुटबलको माध्यमबाट २ देशको सम्बन्ध विस्तार गर्ने माध्यम समेत बनाएका छौ कागे गोल्डकपलाई । भारतको मानेभञ्ज्याङ, बाँसबोटे लगायतका क्षेत्रका टिम हरेक बर्ष फुटबल खेल्न यहाँ आउँछन् ।’
दशैपछि तिहारलाई लक्षित गरेर आयोजना हुँदै आएको प्रतियोगिता जमुनाबासीहरुलाई एकै ठाउँमा भेला पार्ने माध्यम समेत हो । विदामा आएकाहरु भेटघाट र भलाकुसारी गर्नका लागि समेत फुटबल मैदानमा आउने गरेको गुरुङ स्मरण गर्छन् ।
‘दशैं बिदामा आएकाहरु मैदानमा नै भेटघाट र भलाकुसारी गर्छन् । सुख दुःखका कुराहरु बाड्न थलो समेत बन्न सफल भएको छ ।’
खेलकुद पर्यटन प्रर्वद्धनका लागि कागे गोल्डकपको उल्लेख्य योगदान रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राई बताउँछन् ।
‘इलामको खेलकुदमा सन्दकपुरको योगदान अमुल्य छदैछ । कागे गोल्डकपले खेल पर्यटनलाई समेत योगदान दिएको छ । खेल हेर्न इलाम, झापा, पाँचथरका मात्र नभएर भारतका दार्जिलिङ, सिक्किम क्षेत्रबाट समेत दर्शक आउन गरेको पाएको छु । टिमहरु समेत भारतबाट आउँछन्,’ उनले भने ‘सन्दकपुर गोल्डकपपछि पालिका क्षेत्रका आयोजना हुँदै आएको यो नै दोश्रो ठुलो पुरस्कार राशी भएको प्रतियोगिता हो । पुरस्कार राशी भन्दा पनि प्रतियोगिताको निरन्तरता नै कागे गोल्डकपको सबल पक्ष हो ।’

प्रतियोगिताको लागि आयोजकले बाँसको प्यारापिट समेत बनाउने गरेका छन् । घरेलु प्यारापिटमा बसेर इलामबासीहरुले फुटबलको मज्जा लिन पाउँदा आनन्दित महसुस गर्ने गरेका छन् । अष्ट्रेलियामा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर दर्शन गुरुङ कागे गोल्डकपको उत्साहलाई सम्झिरहेको बताउँछन् ।
‘यस वर्ष पनि प्रतियोगिता हुने भएछ सार्है खुशी लागेको छ । त्यही प्रतियोगिताले दर्शन गुरुङ भनेर पहिचान दिएको छ । प्रत्यक्ष मैदानमा हुन नपाउँदा खल्लो महसुस भएको छ,’ उनले भने ‘विदामा आएका साथीहरु भेटिन्थे छरछिमेक र परिवारहरुका विचमा खेल्न पाउँदाको मज्जा वर्णन गर्न सक्दिन् । मेरो राष्ट्रिय टोलीको जग नै कागे गोल्डकप हो ।’
फुटबल प्रतियोगितासँगै काग तिहारको दिन फाइनल संचालन हुने प्रतियोगिता मैदान आसपास मेला समेत लाग्ने गरेको छ । ९ साइडमा संचालन हुने प्रतियोगिता यस बर्ष असोज ३० गतेबाट संचालन हुँदैछ । प्रतियोगिताको लागि आयोजकले तयारी समेत थालेका छन् ।
यस वर्ष आयोजकले १६ टिमलाई सहभागी गराउँदैछन् । जसमा ६ टोली सन्दकपुर गाउँपालिकाबाट हुनेछन् । आयोजक सहित पालिकाको प्रत्येक वडाबाट १÷१ वटा टोली रहनेछन् ।

बाँकी रहेका १० टोली नेपाल र भारतका अन्य क्षेत्रबाट सहभागिता जनाउन पाउनेछन् । सन्दकपुर गाउँपालिका–५ जमुनाको घुम्तीडाडाँमा संचालन हुँदै आएको प्रतियोगिता यस वर्ष निर्माणाधिन गजाधर – धनमाया रंगशालामा हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया प्राप्त गर्नेछन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी , सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई समेत विधागत पुरस्कार राखिएको छ ।