काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण कुमार चेम्जोङले बंगलादेशविरुद्धको खेल नेपालका लागि सधै कठिन हुने बताएका छन् ।
बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलअघि प्रि-म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले बलियो टोली बंगलादेशविरुद्ध कठिन हुने बताएका हुन् ।
'बंगलादेश राम्रो टोली हो उसँगका हरेक खेलहरु नेपालका लागि कठिन नै हुने गरेको छ,' उनले भने, 'बंगलादेशसँगको अन्य हरेक खेल जस्तै यस खेल पनि रोमान्चक हुनेछ ।'
नेपालले भोलि मंगलबार बंगलादेशविरुद्ध दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ ।
कप्तान किरणले फिफा वरीयतामा प्रभाव पार्ने हुँदा बंगलादेशविरुद्धको मैत्रीपूर्णलाई महत्वपूर्ण खेलको रुपमा लिएको बताए । उनले आफु व्यक्तिगत भन्दा पनि टिमलाई सफल बनाउन खेल्ने गरेको बताए ।
'म किरणका लागि भन्दा पनि नेपाललाई सफल बनाउन खेल्ने गर्छु । भोलि हुने खेलले वरीयता लगातमा पनि प्रभाव पार्ने हँदा यसलाई सबैले महत्व दिएका छौँ,' उनले भने, 'यस्ता मैत्रीपूर्ण खेलले हामीमा रहेको गल्तीलाई देखाउन सहयोग पुग्छ र यस्तो खेलले भोली हाम्रो मेन प्रतियोगिता राम्रो बनाउन सहयोग पुर्याउछ ।'
कप्तान किरणले यसै मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । यस अघि कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गरेका थिए ।
तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादको कारण किरण टोलीमा थिएनन् ।
कप्तान किरणले अलमुताईरीले आफु लगायत अन्य असन्तुष्ट खेलाडीलाई टिमबाट निकालेको समेत बताए ।
'मलाई हिजो कोचले बोलाएर म नआएको भन्दा पनि हामीलाई निकालिएको हो,' उनले थपे ।
नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताए ।
'यो मेरो लागि मात्र नभएर देशको लागि नै अवसर चुनौतीको विषय हो । मेरा लागि चुनौतीका रुपमा भन्दा पनि यो एक अवसर हो,' उनले भने, 'किनकि म नेपाली खेलाडीसँग हरेक रुपमा नजिक रहेको छु । जित्नको लागि खेल्ने हो जितिन्छ पनि जिते पछि यो पाउछु त्यो पाउछु भनेर मैले यो काम गरेको होईन ।'