इलाम । झापाको जुनतारा फुटबल क्लब तेस्रो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रदेश १ स्तरीय खुल्ला महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जनता सेभेन फुटबल क्लब इलामलाई ५–० गोल अन्तरले पराजित गर्दै जुनतारा सेमिफाइनलमा प्रवेश गरेको हो ।
जुनताराको लागि २१ औं मिनेटमा सम्झना राईले सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यस्तै ३२औं मिनेटमा गंगा माया राईले गरेको प्रहार गोलमा परिणत भएको थियो । जुनताराकको लागि तेस्रो गोल ५० औं मिनेटमा ममता राउतले गरिन्।
त्यसपछि खेलको ५२औं र ५५औं मिनेटमा अनिता लम्जेलले २ गोल गर्दै टिमलाई ५–० गोलको अन्तरमा विजयी बनाइन । २ गोलकर्ता लम्जेल आजको खेलको उत्कृष्ट खेलाडी घोषित भइन । अर्जुनधारा ३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा भएको गोल्डकपको उदघाटन अर्जुनधारा नगरपालिकाका
प्रमुख बलदेव गोम्देन तामाङले गरेका थिए । च्यारिटी युथ क्लब (सीवाईसी) को आयोजना र जुनतारा महिला फुटबल क्लबको सहआयोजना रहेको गोल्डकपको दोस्रो खेलमा असोज १० गते पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङ र रोयल क्लब दमक झापाबिच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ । प्रतियोगितामा बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, हाइ स्कोरर र म्यान अफ दी टुर्नामेन्ट पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।
विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन भएको हो ।
यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भइसकेको छ ।