धनगढी । कैलालीको धनगढीमा शनिबारबाट हुने सुदूरपश्चिम राजधानी कप २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजक पिएफए स्पोर्ट्स क्लब अत्तरियाले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
धनगढीस्थित रंगशालामा हुने प्रतियोगिताका संयोजक तथा सुदूरपश्चिम फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाउने ६ वटा प्रदेशका आमन्त्रीत टोली तथा सुदूरपश्चिमबाट रातो र निलो दुई ओटा गरी जम्मा ८ वटा टोली रहने बताए ।
आयोजकले बिहीबार ट्रफी र खेल तालिका सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको खेल तालिका अनुसार उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेश भिड्ने भएका छन् । सुदुरपश्चिम प्रदेश रातो, कर्णाली प्रदेश, बागमती प्रदेश र प्रदेश नम्बर १ समुह ‘ए’ मा रहेका छन् भने समुह ‘बी’ मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम निलो रहेका छन् ।
प्रतियोगिताको विजेताले नगद ५ लाख, सहित ट्रफि मेडल र प्रमाणपत्र पाउनेछन भने उप विजेताले नगद ३ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगीतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको मुख्य प्रर्वद्धकमा सुदूरपश्चिम खेलकुद परिषद् रहेको छ । यस्तै सह–प्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहेका छन । ‘हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप’ मुख्य नाराका साथ आयोजना हुने प्रतियोगिताको यो चौथो संस्करण हो ।