काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल जित्नकै लागि खेल्ने बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक हुमागाईले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताए ।
'बंगलादेशसँग जित्न खेल्ने हो । अनुमान गर्न सकिदैन नतिजा । तर, टिममा भएको समझदारी छ । कोचिङ टिम राम्रो छ । हामी जित्ने छौँ,' हुमागाईले भने ।
नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नेछ ।
प्रशिक्षक हुमागाईले नयाँ खेलाडीले अभ्यासमा राम्रो गरेको समेत बताए । हुमागाईले आफुलाई नेपाललाई बस्ने चाहना भएको समेत बताए ।
'म त चाहन्छु नेपालमा बसौँ । तर नतिजा के आउँछ हेरौँ । अहिलेसम्मको लागि बंगलादेशपछि मेरो ड्युटी सकिन्छ,' अमेरिकामा बस्दै आएका उनले थपे ।
हुमागाईले बिहीबार बंगलादेशविरुद्धको खेलका लागि २३ सदस्सीय नेपाली टिमको घोषणा समेत गरेका छन् ।