काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति बहराइनसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो ।
बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे । कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोल गरे ।
खेलको २० औं मिनेटमा अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै बहराइनलाई सुरुआती अग्रता दिलाए ।
नेपालका डिफेन्डर सुमित श्रेष्ठ पेनाल्टी बक्सभित्र ह्याण्ड गरेपछि बहराइनले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको २८ औं मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।
खेलको ४२ औं मिनेटमा नसिरले गोल गर्दै बहराइनको अग्रता २-० को बनाए ।
खेलको ६७ औं मिनेटमा अब्दुलरहमानले गोल गर्दै बहराइनलाई ३-० को अग्रता दिलाए ।
खेलको ८३ औं मिनेटमा अब्दुल्लाले गोल गर्दै बहराइनलाई ४-० को अग्रता दिलाए ।
८८ औं मिनेटमा अब्दुल्लाले व्यक्तिगत दोस्रो गोल गर्दै बहराइनलाई ५-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा मुबारकले गोल गर्दै बहराइनलाई ६-० को जित दिलाए ।
यस जितसँगै समूह 'बी' को बहराइनले पहिलो जित निकालेको छ । बहराइनले २ खेलमा ४ अंक जोडेको छ ।
नेपाल अंक विहीन रहेको छ । पुछारमा रहेको नेपाल प्रतियोगिताबाट समेत बाहिरिएको छ ।
पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो ।
अब नेपालले अन्तिम खेलमा आइतबार बगलादेशसँग खेल्नेछ ।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।