काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज बुधबार दुई खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा साविक विजेता भारतले पाकिस्तानको सामना गर्नेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
समूह ए मा रहेको भारत चिरपरिचित प्रतिद्वन्दी पाकिस्तानलाई हराउँदै उपाधि रक्षाको यात्रा तय गर्न चाहन्छ । पाकिस्तान पनि भारतलाई हराएर उपाधिको दाबेदारको रुपमा प्रस्तुत हुने योजनामा छ ।
पाकिस्तान करिब लामो समयपछि अन्तराष्ट्रिय फुटबलमा फर्कन लागेको हो । फिफाको प्रतिबन्धको कारण पाकिस्तानले पछिल्लो समय फुटबल खेलेको थिएन ।
यस्तै अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । बंगलादेश र माल्दिभ्सबीचको खेल ५:३० बजे सुरु हुनेछ ।
बंगलादेश र माल्दिभ्स दुबै जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।
यस अघि मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरिसकेको छ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।
यस्तै समूह 'बी' मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।