इलाम । प्रदेश १ ले यू-१५ महिला खेलाडी छनौट गरेको छ । राष्ट्रिय टोलीको छनौटका लागि प्रदेश १ ले २१ सदस्यीय टोली तयार गरेको हो ।
बंगलादेशमा हुने साफ यू-१५ च्याम्पियनसिपका लागि एन्फाले देशभरबाट खेलाडी छनौट गर्ने भएपछि प्रदेश १ ले आफ्नो क्षेत्रबाट खेलाडी छनौट गरि नाम सिफारिस गरेको हो ।
धरानस्थित एन्फा एकाडेमीमा भएको छनौटमा सबैभन्दा बढि मोरङबाट ८ जना खेलाडी परेका छन् । मोरङबाट मौसमी विक, रितिका कार्की, आशिका कार्की, छोइसाङ तामाङ, सुस्मिता बस्नेत, रुपा धिमाल, अस्मिता माझी र मिलिना कार्कीले प्रदेशको टोलीमा स्थान बनाएका छन् ।
त्यसैगरी उदयपुरबाट ५ जना छनौटमा परेका छन् । छनौटमा पर्नेहरुमा निकिता राई, मनिता कुमारी आले, प्रनिशा लामा, दिपा मगर र समिक्षा मगर रहेका छन् ।
सुनसरीबाट ३ जना छनौटमा परेका छन् । अल्फा राई, तान्छु लिम्बु, बिजेता राई र सामना भट्टराईले सुनसरीबाट स्थान बनाएका छन् । झापाबाट सिमरन राई र रेनु लिम्बु प्रदेशको टोलीमा परेका छन् ।
इलामबाट अनिशा राई र पाँचथरबाट पुनम चेम्जोङ प्रदेश १ को टोलीमा परेको मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिब बुढाथोकीले जानकारी दिए ।
प्रदेश १ का प्रशिक्षक सुमन श्रेष्ठ, उदयपुरका प्रशिक्षक दिपक थापा, झापाका दिपक कार्की, मोरङका रानु प्रताप राना मगर, इलामका छिरिङ पासाङ शेर्पा, सुनसरीका श्याम मानन्धर र भगवती राना मगर तथा धनकुटाका सरिन प्रधानको टोलीले खेलाडी छनौट सम्पन्न गरेको हो ।
प्रदेशबाट छानिएका खेलाडीहरुले राष्ट्रिय छनौटमा सहभागी हुनेछन् । राष्ट्रिय छनौटमा परेका खेलाडीहरुले नेपालको यू-१५ महिला टिमको प्रतिनिधित्व गर्दै बंगलादेशमा हुने प्रतियोगितामा सहभागिता जनाउनेछन् ।