इलाम । नवौं राष्ट्रिय खेलकुदको प्रदेश छनौटका लागि सहभागी हुने इलामका ३२ जना खेलाडीको निशुल्क स्वास्थ्य बीमा गरिएको छ ।
इलामको देउमाई नगरपालिका निवासी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर सोम लुइटेलले निःशुल्क बीमा गरिदिएका हुन् ।
पेशागत बीमा अभिकर्ता संघ बिमक समिति प्रदेश सदस्य समेत रहेका लुइटेलले पुरुष र महिला टोलीका १६÷१६ जना खेलाडीको प्रति व्यक्ति एक लाख रुपैया बराबरको बीमा गरिदिएको इलाम जिल्ला फुटबल संघका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए ।
बीमा भएका खेलाडीहरु १ वर्ष अवधिभित्रमा खेलका क्रममा घाइते भएको खण्डमा १ लाख रुपैयासम्मको उपचार सेवा पाउनेछन् ।

‘बीमा अवधि भित्रमा खेलाडीहरुको आकस्मिक कुनै कारणले मृत्यु भएमा परिवारलाई २ लाख रुपैया पाउनुहुनेछ । खेलाडी घाइते भएमा १ लाख रुपैया पाउनुहुनेछ,’ लुइटेलले भने ‘यो वर्षको मैले व्यक्तिगत खर्चमा गरिदिएको हो । उहाँहरुले ३ वर्षसम्म बीमा रकम तिर्नुभएको खण्डमा पैसा फिर्ता समेत लिन सक्नुहुनेछ ।’