काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै महिला साफको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ।
एन्फाका वरिष्ठ उपाध्यक्ष तथा साफ आयोजक समितिका संयोजक वीरबहादुर खड्काले प्रतियोगिताको सफल आयोजनाका लगी तयारी पूरा भएको बताए ।
'निर्वाचित भएर आएका हामीले महिला साफ आयोजना गर्ने अवसर पायौं । सबै तयारी पूरा भईसकेको छ । यो आयोजनाले भोलिको दिनमा महिला फुटबलमा नयाँ उचाई हासल गर्नेछ,' पत्रकार सम्मेलनमा उनले भने ।
प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

प्रतियोगिता संचालनका लागि अनुमानित कुल बजेट ३ करोड ४७ लाख ६७ हजार ६ सय ८० रुपैयाँ लाग्ने एन्फाले जनाएको छ ।
प्रतियोगिता संयोजक खड्काले प्रतियोगिताको टिकट र ब्रोडकास्टिङ अधिकार ६५ लाखमा भारतीय कम्पनीमा हन्ड्रेड स्पोर्टसलाई दिईएको जनाए ।
यस्तै प्रतियोगिताको प्रत्यक्ष प्रशारण एपी वान टेलिभिजनले गर्ने एन्फाले जानकारी दिएको छ ।
प्रतियोगिताका लागि सामान्य प्यारापिटतर्फ ३ सय र भीआईपीतर्फ ५ सयको टिकट दर राखिएको एन्फाले जनएको छ।
एन्फाले प्रतियोगिताका लागि भुटान र पाकिस्तान नेपाल आईसकेको र अन्य टोली आइतबारसम्म आईपुग्ने जनाएको छ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
नेपाल सहज मानिएको 'बी' रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।
यस्तै समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।