काठमान्डौ । यो समरमा चेल्सीमा टोड बोहलीले रोमन अब्रामोविचबाट क्लब किनेर नयाँ युगको सुरुवात भएको घोषणा गरे । अमेरिकी अर्बपतिले प्रिमियर लिगको इतिहासमा कुनै पनि क्लब भन्दा एकल विन्डोमा सबैभन्दा बढी पैसा खर्च गर्दै आफ्नो उपस्थिति महसुस गराए ।
फुटबल वेबसाइट ट्रान्सफरमार्कटका अनुसार रहिम स्टर्लिङ, मार्क कुकुरेला, कालिडो कौलिबाली र पियरे इमेरिक औबामेयाङ जस्ता खेलाडीमा २ सय ५० मिलियन पाउण्डभन्दा बढी खर्च भएको थियो । जुन रियल म्याड्रिडले सन् २०१९ मा खर्च गरेको २ सय ९२ मिलियनपछि विश्व क्लब फुटबलमा समरमा खर्च भएको दोस्रो ठूलो रकम पनि हो ।
म्यानचेस्टर युनाइटेडले आफ्नै खर्चको कीर्तिमान तोड्दै प्रिमियर लिग खर्च गर्ने सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । युनाइटेडले समरमा क्यासमिरो, क्रिस्चियन एरिक्सन र लिसान्ड्रो मार्टिनेजलाई ल्यायो, एन्टोनीको डेडलाइन–डे क्याप्चरको साथ उनीहरूको कुल खर्च लगभग २ सय १४ मिलियन पाउण्ड पुग्यो । यो प्रिमियर लिग क्लबले अहिलेसम्मको चौथो उच्च समर खर्च हो ।
यो स्ट्राइकरको समर रह्यो । किनकी म्यानचेस्टर सिटीले एर्लिंग हालान्ड, लिभरपुलले डार्विन नुनेज, आर्सनलले गेब्रियल जेसस, वेस्ट ह्यामले जियानलुका स्कामाका र न्युक्यासलले अलेक्ज्याण्डर इसाकमा पैसाको खोला बगाए ।
प्रिमियर लिग सन् २०२२ समर ट्रान्सफर विन्डोमा सबैभन्दा धेरै खर्च गर्ने क्लब (स्रोतः ट्रान्सफरमार्केट)
चेल्सी – २ सय ५१ मिलियन पाउण्ड
म्यानचेस्टर युनाइटेड – २ सय १४ मिलियन पाउण्ड
वेस्ट ह्याम – १ सय ६३ मिलियन पाउण्ड
टोटेनहम – १ सय ५२ मिलियन पाउण्ड
नटिङ्घम फरेस्ट – १ सय ४५ मिलियन पाउण्ड
म्यानचेस्टर सिटी – १ सय २५ मिलियन पाउण्ड