काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज शुक्रबार घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ ।
नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ ।
केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एकदिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ ।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।
यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ । टी-ट्वान्टीमा उत्कृष्ट प्रदर्शन गरेको केन्याविरुद्ध नेपाललाई सहज भने हुने छैन ।
केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । नियमित टोलीका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान रहेका पौडेलले नेपालको कप्तानी गर्ने भएका हुन् । सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगिसकेका छन् ।
हेट टु हेड -
आईसीसीका विभिन्न प्रतियोगितामा नेपाल र केन्याले पटक पटक खेलेका छन् । केन्यासँगको एकदिवसीयको पछिल्लो पाँच भेटमा नेपाल २ खेलमा तथा केन्या ३ खेलमा विजयी भएका छन्।
दुई टोलीबीचको पहिलो भेट २३ जनवरी २०१५ मा भएको थियो । नामिबियामा भएको यस खेलमा नेपाल पराजित भएको थियो । यस खेलमा केन्या ९० बल बाँकी रहदै ५ विकेटले विजयी भएको थियो ।
यस खेलमा ज्ञानेन्द्र मल्लले ९१ तथा तत्कालिन कप्तान पारस खड्काले २० रन बनाएका थिए । बसन्त रेग्मी तथा सागर पुनले समान १/१ विकेट लिएका थिए ।
नामिबियामा भएको सोहि प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा केन्या र नेपालबीच दोस्रो खेल भएको थियो ।
२०१५ जनवरी २४ मा भएको सो खेलमा केन्या विजयी भयो । खेलमा केन्या १५ रनले विजयी भयो । यस खेलमा विनोद भण्डारीले ७३ रन तथा ज्ञानेन्द्र मल्लले ४८ रन बनाएका थिए । सोमपाल कामीले ३ तथा सागर पुनले २ विकेट लिएका थिए ।
नेपाल र केन्याबिचको तेस्रो खेल नेपालमा भएको थियो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत भएको यस खेलमा केन्या विजयी भएको थियो । खेल ११ मार्च २०१७ मा भएको थियो ।
वर्षाले प्रभावित यस खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले २७ तथा सोहि खेलमा डेब्यु गरेका दिपेन्द्र सिंह ऐरीले १९ रन बनाए । सो खेलमा सागर पुन तथा सन्दीप लामिछानेले समान २/२ विकेट लिए ।
नेपाल र केन्या आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा चौंथो भेट भएको थियो । नेपालमा नै भएको यस खेल १३ मार्च २०१७ मा भएको थियो । सो खेलमा भने नेपाल ७ विकेटले विजयी भएको थियो । सो खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ६४ तथा दिपेन्द्र सिंह ऐरीले ६२ रन बनाएका थिए ।
नेपाल र केन्याबीचको पाँचौं खेल १२ फेब्रुअरी २०१८ मा नामिबियामा भएको थियो । आईसीसी विश्वकप लिग डिभिजन टू मा नेपालले केन्यालाई ३ विकेट हरायो । सो खेलमा नेपाल अन्तिम बलमा लक्ष्य भेटेको थियो ।
यस खेलमा नेपालका लागि रोहित पौडेलले ४७ तथा पारस खड्काले ४२ रन बनाएका थिए । सो खेलमा सन्दीप लामिछानेले ५ तथा शरद भेषवाकरले १ विकेट लिएका थिए ।