काठमाडौं । टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले इंग्ल्यान्डका अफिसियलहरुले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि कसरी प्रयोग गर्ने भनेर सिक्नु पर्ने बताएका छन् ।
वेस्ट ह्यामविरुद्धको बराबरीपछि तनाबमा देखिएका कोन्टेले आफ्नो धारणा राखेका हुन् । डेभिड मोयेसको टोली वेस्ट ह्यामले लन्डन स्टेडियममा एक गोलले पछि परेपनि पुनरागमन गर्दै लिगमा अपराजित टोटेनहमविरुद्ध १ अंक खोसेको थियो ।
टोटेनहमले पाँच खेलमध्ये तीन जितेको छ । दुईवटा बराबरी गरेको छ र तेस्रो स्थानमा छ । उत्तर लन्डन प्रतिद्वन्द्वी आर्सेनल र च्याम्पियन म्यानचेस्टर सिटी दुबैले बुधबार विजय हासिल गर्दा टोटेनहम थप दबाबमा परेको छ ।
आरोन क्रेसवेलको ह्यान्डबल पछि टोटेनहमले पेनाल्टी पाएको थियो । तर भारले लामो जाँच र पिचसाइड मनिटरमा घटना हेरेपछि रेफ्रीले आफ्नो निर्णय उल्टाए ।
'इमान्दारीपूर्वक, पहिलो हाफको अन्त्यमा मैले रेफ्रीसँग कुरा गरे र उनलाई तपाईले सही निर्णय लिनुभयो भनेर सोधे,' कोन्टेले भने ।
'यस अविश्वसनीय छ कि भीएआरले फेरि हेर्यो, रेफ्रीलाई बोलाइयो । म केवल रेफ्रीले सही निर्णय लिएको कुरा मात्र भन्न सक्छु । सामान्यतया भीएआरले । ठीक छैन भने ठिक पार्छ । तर यो उल्टो भयो,' उनले थपे ।