काठमाडौं । घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल खेल्ने नेपाली राष्ट्रिय टोली 'मोटिभेसनल क्लास' मा सहभागी भएका छन् ।
नेपाली टोलीलाई मंगलबार मोटिभेसनल स्पिकर दिनेश कार्कीले क्लास लिएका थिए । हरितालिका तीजको अवसरमा नेपाली टोलीका लागि मोटिभेसनल क्लास राखिएको हो ।
कार्यक्रममा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्बाङ, सदस्य मनिष जोशी र सरिला श्रेष्ठको उपस्थिति रहेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ।
उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । समूह 'बी' मा रहेको नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

नेपाल सहज मानिएको 'बी' रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।
यस्तै समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।