काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आज (आईतबार) तीन खेल हुदैछ । लिगको ठुलो क्लब म्यानचेस्टर सिटी न्युक्यासल भ्रमणमा निस्कदैछ । सिजनको सुरुवात राम्रो गरेको सिटीलाई लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर पनि छ ।
आर्सनल लगातार तीन खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ । न्युक्यासलविरुद्ध जित निकालेको खण्डमा गोल अन्तरका आधारमा सिटी शीर्ष स्थानमा उक्लिन सक्नेछ ।
सिटीले नयाँ खेलाडी सर्जियो गोमेजलाई टिममा सहभागी गराएको छ । उनी न्युक्यासलविरुद्ध मैदान उत्रन सक्नेछन् । पेप ग्वार्डिओलाका अनुसार केल्भिन फिलिप्स र कोल पामर सामान्य चोट मुक्त हुँदै टिममा फर्किएका छन् ।
न्युक्यासलपनि विङ्गर रेयान फ्रेजरको आगमनले उत्साहीत छ । उनले चोटकै कारण ब्राइटनविरुद्धको खेल गुमाएका थिए । माट टार्गेट सिटीविरुद्ध खेल्न सक्ने बताईएको छ । अर्का डिफेन्डर डान बर्न पनि खेल्नका लागि तयार छन् ।
लिगकै अन्य खेलमा चेल्सी लिड्सको भ्रमणमा निस्कदैछ भने अर्को खेलमा वेस्ट ह्याम र ब्राइटन भिड्दैछन् ।