काठमाडौं । आफ्नो प्रिमियर लिग करियरको एक दशकपछि ह्यारी केनले शनिबार उल्भ्सविरुद्ध गोल गर्दै टोटेनहमका लागि २ सय ५० औं गोल गर्दै अर्को कोशेढुंगा पूरा गरेका छन् । इंग्ल्यान्डका स्ट्राइकर अब प्रिमियर लिग इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा चौंथो स्थानमा छन् ।
केन प्रिमियर लिगमा कुनै एक क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन् । केनले म्यानचेस्टर सिटीका लेजेण्ड सर्जियो अग्युरोको रेकर्ड तोडेका हुन् । टोटेनहमका लागि केनले प्रिमियर लिगमा १ सय ८५ गोल पूरा गरे । यस अघि अग्युरोले सिटीको लागि १ सय ८४ गोल गर्दै यो रेकर्ड आफ्नो नाममा गरेका थिए ।

केनको व्यक्तिगत उपलब्धिहरू बाहेक उनीसँग कुनै पनि घरेलु, युरोपेली वा अन्तर्राष्ट्रिय ट्रफी भने छैन । यसले समर्थकलाई बेला बेलामा दुखी बनाउँछ । केन पछिल्लो आठ सिजन प्रत्येक प्रतियोगितामा क्लबको प्रमुख गोलकर्ता बनेका छन्। तर स्पर्सलाई ट्रफी दिलाउन सकेका छैनन् ।
स्पर्सको उत्कृष्ट प्रिमियर लिग यात्रा २०१६-१७ मा थियो । यो सिजन टोटेनहम प्रिमियर लिगको उपविजेता बन्यो । सन् २०१९ च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलसँग हार्दा उसको युरोपियन ट्रफीको सपना चकनाचुर भयो । त्यो समयमा टोटेनहम ईएफएल कपमा पनि फाइनलमा म्यानचेस्टर सिटीसँग पराजित हुँदा ट्रफी विहीन रह्यो । यस्तै स्पर्स दुई पटक एफए कपको सेमिफाइनलमा पुग्यो तर पराजय व्यहोर्यो ।

तर, स्पर्सका प्रशिक्षक एन्टोनियो कोन्टे मान्छन् कि केनले निसन्देह व्यक्तिगत रेकर्डको साथ साथै ट्रफीको खडेरीलाई पनि तोडने छन् ।
'मलाई राम्ररी थाहा छ कि ह्यारीले ट्रफीको लागि आफ्नो व्यक्तिगत उपलब्धिहरू बढाउन चाहन्छन् र यसका लागि उनी धेरै मेहनत गरिरहेका छन्,' इटालियनले भने।
'हामी विश्व स्तरीय स्ट्राइकरको बारेमा कुरा गर्दैछौं तर मलाई के कुराले खुशी दिन्छ भने हामीसँग गोलले मात्र उत्कृष्ट खेलाडी होइन । हामीसँग एक खेलाडी छ जो टोलीको लागि धेरै काम गर्दछ,' उनी थप्छन्, 'हामी यस पक्षमा काम गरिरहेका छौं। बाटो कठिन छ, बाटो लामो छ, तर हामीले प्रयास गर्नुपर्छ। तर ह्यारी एक खेलाडी हुन् जसले आफ्नो गुणस्तरको लागि, आफ्नो क्षमताले फरक पार्नु पर्छ।'