काठमाडौं । नेपाली यू-२० राष्ट्रिय फुटबल टिमका कप्तान आयुष घलानले साफ यू-२० च्याम्पियनसिपमा भारतसँग खेलले नेपाली टोलीलाई धेरै कुरा सिकाएको बताएका छन् ।
लिग चरणमा भारतसँग ८-० को फराकिलो हार ब्यहोरेको नेपाली टिम फाइनल पुग्न असफल भएको थियो ।
भारतसँगै हारले प्रतियोगिताबाट बाहिरिएको नेपाली टोली बिहीबार स्वदेश फर्किएका छन् ।
स्वदेश फर्कने क्रममा त्रिभुवन बिमानस्थलमा पत्रकारसँग प्रतिक्रिया दिदै कप्तान घलानले त्यस हारले धेरै सिकाएको बताए ।
'राम्रो नै भयो प्रतियोगिता । भारतसँगको खेलले हामीलाई धेरै कुरा सिकायो भारतसँग हामी मेन्टली रुपमा तयार थियौं केटाहरु तयार थिए', घलानले भने ।
माल्दिभ्स र श्रीलंकालाई हराउँदै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको थियो । तर तेस्रो खेलमा भारतसँग फराकिलो हार ब्यहोर्यो । अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेपनि नेपाली टिम फाइनल पुग्न बञ्चित रह्यो ।
आयुषले भारतविरुद्धको खेलमा खेलाडीमा अनुभवको कमी देखिएको बताए ।
'पूरा प्रतियोगितामा हामी मेन्टल्ली रुपमा बलियो रहे पनि केटाहरुमा अनुभवको कमी देखिय,' आयुषले भने, 'नेपालले राम्रो खेल्न सक्छ भन्ने देखियो ।'