काठमाडौं । फुटबल धेरै हदसम्म मैदानमा खेलिन्छ, र दुई टोलीहरू मध्य राम्रोले बाजी मार्छ । तर फुटबलमा यस्ता क्षणहरु छन्, जहाँ मैदानमा मात्र खेल सिमित रहदैन । टोली बीचको सर्वश्रेष्ठताको लडाँई मैदान बाहिरैसम्म पुग्छन् ।
ती मध्ये एउटा हो, ट्रान्सफर विन्डो । जहाँ क्लबहरुले नयाँ सिजन अघि आफ्नो टोलीलाई बलियो बनाउन बजारमा उत्कृष्ट खेलाडी अनुबन्ध गर्न प्रतिस्पर्धा गर्छन् । यहाँ कसैले अपेक्षा गर्न नसक्ने अप्रत्यासित घटनाहरु देखिन्छन् । विशेष गरि जब दुई टिमबीच एउटा खेलाडीको लागि द्वन्द्व हुन्छ, त्यहाँ माहोल तातिहाल्छ ।
यस समरमा पनि विश्व फुटबल बजार तातेको छ । ट्रान्सफर लडाई फरक फरक ढंगले भैरहेका छन । दुई ठुला क्लबको द्वन्द्वले गर्दा केही खेलाडी बारम्बार चर्चाको बिषय बने । एर्लिङ हालान्डको लागि म्यानचेस्टर सिटी र रियल मड्रिडको द्वन्द्व, एम्बाप्पेका लागि पीएसजीले देखाएको पागलपन, यो समरको सुरुवातमै बजार तात्ने गरि भएका प्रमुख ’ट्रान्सफर ब्याटल’ थिए । त्यसपछि बायर्न र बार्सा अर्को महत्वपुर्ण ट्रान्सफर रोबर्ट लेवान्डोस्कीको लागि जुँधे । यो गर्मागर्म यही रोकिएन ।
समर विन्डोमा केहीमात्र समय बाँकी रहेको अवस्थामा युरोपका दुई क्लबले रात दिन बजार पिटिरहे । यो पक्कै पनि बार्सिलोना र चेल्सीको बारेमा हो ।
चेल्सीको दुर्भाग्य ! उनीहरू विश्वको दोस्रो सबैभन्दा ठूलो र लोकप्रिय फुटबल क्लबसंग सामना गरिरहेका थिए । बार्सिलोनाले समर ट्रान्सफर विन्डोमा चेल्सीलाई पानी पनि भन्न दिएन । एक समय चेल्सी लाचार देखियो । धेरैले बिचरा भन्न समेत भ्याए ।
एन्ड्रियास क्रिस्टेनसेन
बिस्तारै जाउँ । ट्रान्सफर विन्डोको अघि चेल्सी एन्ड्रियास क्रिस्टेनसेनको सम्झौता लम्ब्याउन चाहन्थ्यो । जो एक शानदार युरोपियन च्याम्पियनसिपबाट बाहिर आउँदै थिए र चेल्सीको च्याम्पियन्स लिग दौडको लागि महत्वपूर्ण थिए । बार्सिलोनाले सम्पर्क गरेपछि उनले थपिएको सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरे । थोमस टुचेल, जसको सार्वजनिक रूपमा उनको बारेमा असन्तुष्टि व्यक्त गरे ।
उसमान डेम्बेले
चेल्सीबाट उसमान डेम्बेलेलाई कुनै ठोस प्रस्ताव त थिएन, तर फ्रान्सेली खेलाडीलाई फ्री ट्रान्सफरमा हस्ताक्षर गर्न स्टामफोर्ड ब्रिज साच्चिकै आशाबादी थियो ।
उल्लेख नगरेपनि यो कुनै गोप्य छैन कि टुचेल डेम्बेलेका ठूला प्रशंसक हुन् । चेल्सी लगभग सधैं डेम्बेलेको एजेन्टसँग सम्पर्कमा थियो । एजेन्ट म्याट लले पनि रहिम स्टर्लिङपछि उनलाई साइन गर्न चेल्सी इच्छुक रहेको बताइसकेका छन् । डेम्बेलेले बार्सिलोनासँग दुई वर्षको लागि आफ्नो सम्झौता नवीकरण गरे । भारी तलब कटौती गर्दै ।
रोबर्ट लेवान्डोस्की
सूचीमा तेस्रो स्थानमा लेवान्डोस्की छन्, जसलाई यो समरमा चेल्सीले सम्पर्क गरेको थियो । स्टामफोर्ड ब्रिजमा उनलाई उच्च पारिश्रमिक, प्रिमियर लिगको ठुलो प्रतिस्पर्धी टोली, र ट्रफीमा राम्रो लडाईको आश्वासन चेल्सीको थियो । यद्यपि विश्वका उत्कृष्ट स्ट्राइकरले बार्सिलोनालाई मात्रै चाहन्थे र चेल्सीलाई आफ्नो दोस्रो रोजाइको विकल्पको रूपमा राखे ।
राफिन्हा
यहीबाट कुरा तात्न थाल्यो । चेल्सीको फ्रन्टलाइन स्पष्ट रूपमा कमजोर छ । र उसले आफ्नो आक्रमणमा केही धेरै आवश्यक ’क्रिएटिभिटी प्लग इन’ गर्न लिड्स युनाइटेडबाट राफिन्हालाई ल्याउन चाहन्थ्यो । लिड्सले ब्राजिलियनलाई छोड्नका लागि ७५ मिलियन पाउण्डको माग गर्यो । चेल्सीले सजिलै माग स्वीकार गर्यो । चेल्सीको प्रस्ताव लिड्सले पनि मानेको थियो । ट्रान्सफर नजिक देखिन्थ्यो ।
यत्तिकैमा बार्सिलोनाको प्रवेश भयो ।
राफिन्हाको सपना क्याम्प नोउमा खेल्ने थियो । उनले आफ्नो एजेन्ट डेकोलाई लन्डन ट्रान्सफर रोक्न भने । राफिन्हा बार्सिलोनाको कमजोर आक्रमणको बारेमा सचेत पनि थिए । उनि त्यहाँ महत्वपुर्ण सदस्य हुन सक्थे । अन्तत उनलाई बार्सिलोनाले ‘हाइज्याक’ गर्यो । राफिन्हा बार्सिलोना छाडेर चेल्सीमा जाने छैनन् भन्ने स्पष्ट थियो । लिड्सले विङ्गरको लागि बार्सिलोनाको लगभग ६० मिलियन, जुन चेल्सीले दिएको भन्दा धेरै कम रकममा उनलाई बेच्यो ।
जुल्स कुण्डे
बार्सिलोनाले सेभिल्लाबाट जुलेस काउन्डेलाई अनुबन्ध गर्ने औपचारिक घोषणा गरेपछि त्यो रात ’कोउण्डे सागा’ को अन्त्य भयो । यस पटक फ्रान्सेली खेलाडीको लागि चेल्सी जाने बाटो खुला थियो । चेल्सीको ६५ मिलियन पाउन्डको प्रस्ताव सेभिल्लाले स्वीकार गरेको थियो । ट्रान्सफर लगभग पक्का भयो ।
बार्सिलोनाले जाभीको अनुरोधमा चेल्सी र सेभिल्लाबीच सहमति भएको अन्तिम समयमा हस्तक्षेप गर्ने निर्णय ग¥यो । त्यो पनि धेरै कम मुल्य राख्दै । अन्ततः कुण्डे पनि क्याम्प नोउमा सामेल हुने भए । चेल्सीको कदमलाई अवरोध गर्दै क्याटालोनियामा उनको ‘स्विच’ पूरा भयो ।
यो बेलासम्म अझ मार्कोस अलोन्सो र चेल्सीका कप्तान सेजर अजपिलिकुएटासँग बार्सिलोनाको सम्पर्कलाई उल्लेख गरिएको छैन । किनकी यि सम्पर्क आधिकारिक पनि हैनन् । तर यो विन्डोमा चेल्सी अत्यन्तै पिडित बनेको छ, बार्सिलोनाको सामु ।
बिचरा चेल्सी !