काठमाडौं । भर्खरै मात्र लुइस स्वारेज आफ्नो घर फर्केका छन् । एटलेटिको म्याड्रिडसँगको अनुबन्ध सकिएपछि उनी युरोपमै रहन सक्थे । युभेन्ट्स, एस्टन भिल्ला र बोरुसिया डर्टमुन्ड जस्ता ठूलै क्लबले पनि उनमा रूचि देखाएको थियो । तर उनले यसलाई स्विकारेनन्, बरू आफूले जहाँबाट पहिलो पल्ट खेल्न सुरु गरेका थिए, त्यही क्लब नेसनालबाट खेल्ने निर्णय गरे ।
उनी आएयता नेसनालमा भब्य स्वागत पनि गरिएको थियो । यो त जताततै समाचारमा आएका कुरा नै भए । अब समाचारमा धेरै नआएको कुरा । भएको के थियो भन्दा स्वारेज उरुग्वे फर्कने भएपछि त्यसबाट उनका एक निकै नजिकका साथी भावुक भए । ती थिए, लियोनल मेसी । बार्सिलोनामा छँदा उनीहरूको दोस्ती खुबै छाएको थियो ।
दुवैले मैदानमा पनि खुबै गोल गरे, सँगसँगै मिलेर । बार्सिलोना छाडेयता उनीहरू अन्यत्र लागे, तर दुईबीचको यो सम्बन्ध टुटेन् । स्वारेजका लागि मेसीले एउटा मीठो न मीठो सन्देश पनि छाडेका छन् । त्यस भिडियो सन्देशमा उनले भनेका छन्, ‘धेरै धेरै माया र नयाँ खेल जीवनका लागि शुभकामना । विश्वकपका लागि राम्रो तयारी पनि गर्नु ।’
मेसी खालि यत्तिकैमा मात्र टुंगेनन् । स्वारेजलाई युरोपबाट उरुग्वे फर्कनका लागि आफ्नै नीजि विमान पनि चढ्न दिए । सबैलाई थाहा छ, मेसीको आफ्नै १ करोड २० लाख पाउन्ड जाने विमान छ । आफ्नै विमान भनेपछि आफूले चाहेको समयमा जताततै जान सक्ने भयो नै । स्वारेज त्यही विमान चढेर घर पुगेका थिए । आफ्ना साथीप्रति मेसीको माया पनि गज्जब छ ।
–मिररको सहयोगमा ।