सिटी र लिभरपुललाई चुनौती दिने को ?

काठमाडौं । म्यानचेस्टर सिटी र लिभरपुलबीच पछिल्लो समय प्रतिद्वन्द्वीता खुबै फराकिलो भएको छ र यसले इंग्लिस फुटबल आफै माथिल्लो स्तरमा पुगेको दाबी पनि गरिन्छ । यसबीच एउटा अर्को तथ्य पनि फराकिलो भएको छ र यो हो, यिनै दुई क्लब र अन्य प्रतिस्पर्धीबीचको दूरी पनि । पछिल्ला पाँच सिजन पेप ग्वार्डिओलाको सिटीले चार पल्ट लिग जितेको छ ।
जबकी योर्गन क्लोपको लिभरपुलले एक पल्ट । सबैको अनुमान छ, सन् २०२२–२०२३ को इंग्लिस प्रिमियर लिग सिजनको कथा पनि यही हो । उहिँ सिटीविरुद्ध लिभरपुल । बाँकी टिम कता पो छन् त ? अझ सिटी र लिभरपुल दुवैले अबको सिजनका लागि भनेर आफ्नो टिम अझ बलियो बनाएका छन् ।
सिटीले इर्लिङ हल्यान्ड अनुबन्ध गरेको छ भने लिभरपुलले डारविन नुनेज । दुवै विश्वस्तरीय खेलाडी हुन्, आफ्नो व्यक्तिगत प्रदर्शनले पूरा लिगमै प्रभावित पार्न सक्ने । भर्खरै कम्युनिटी सिल्ड उपाधिको पनि छिनोफानो भइसकेको छ, त्यसमा लिभरपुल सिटीमाथि ३–१ ले विजयी रह्यो । यहाँनिर मुख्य प्रश्न हो, यी दुई टिमलाई लिगमा चुनौती दिने को हो त ?
चेल्सी
चेल्सीलाई नै त्यस्तो पहिलो टिम मान्न सकिन्छ, जसले सिटी र लिभरपुलको बाटो छेक्न सक्छ । पोहोर पनि तेस्रो स्थानमा आएको थियो, चेल्सी । यसैबीच चेल्सी आफै धेरै परिवर्तनबाट गुज्रेको छ । रुसी धनाद्य मालिक रोमन अब्रामोभिच बाहिरिएका छन् भने उनको स्थानमा अमेरिकी मालिक टड बोहली आएका छन् ।
के यी नयाँ मालिकले अब्रामोभिच शैलीको कुनै छनकसम्म पनि दिन सक्ने छन् त ? चेल्सीको अबको सिजनका लागि गरेको सबैभन्दा ठूलो अनुबन्ध भनेको सिटीबाट रहिम स्टर्लिङलाई किन्नु हो । रोमेलु लुकाकु फेरि इन्टर फर्किनु केही अर्थमा चेल्सीका लागि धक्का पनि हो । प्रशिक्षक थोमस टुचेलमाथि ठूलै दबाब छ, चेल्सी सम्हाल्नुको ।
टोटनहम
गत सिजन टोटनहमले निकै कमजोर सुरुआत लियो, तर प्रशिक्षकमा एन्टोनियो कोन्टे आएयता फेरि राम्रो खेल्न थाल्यो । त्यसको नतिजा धेरेको विश्वास विपरित टोटनहम लिगको चौथो स्थानमा रहेर युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुन पनि सफल रह्यो । यसको धेरै श्रेय कोन्टेलाई जान्छ ।
त्यस अर्थमा अबका सिजनमा पनि टोटनहमका लागि सबैभन्दा मुख्य पात्र कोन्टे हुनेछन्, उनले आफ्ना खेलाडीलाई कसरी खेलाउने हो, त्यो महत्त्वपूर्ण हुनेछ । टोटनहमले एभरटनबाट रिचार्लिसन किनेको छ, तर उनले पनि नियमित खेल्ने टुंगो छैन् । यसले देखाउँछ, टोटनहमको टिम आफैमा कति बलियो छ, तर समस्या हो, यही टिमले कसरी खेल्छ ?
आर्सनल
अबको सिजन कुनै एक टिमबाट धेरै आश गर्न सकिन्छ भने त्यो आर्सनल हो । धेरैलाई लागिरहेको छ, इंग्लिस प्रिमियर लिगको शीर्ष चार स्थानका लागि आर्सनल बलियो प्रत्यासी हो र उसले सिटी तथा लिभरपुललाई बलियो चुनौती दिन सक्छ । गत सिजन आर्सनल चौथो स्थानको निकै नजिक पुगेर पनि त्यसबाट टाढा रह्यो, जुन आफैमा पीडादायी रह्यो ।
त्यसैले आर्सनलको सबैभन्दा ठूलो लक्ष्य फेरि च्याम्पियन्स लिगमा फर्कनु नै हुनेछ र त्यसपछि मात्र उसले बाँकी कुराबारे सोच्न सक्छ । प्रशिक्षक मिखेल आर्टेटाले केही राम्रा अनुबन्ध पनि गरेका छन्, जस्तो ग्याब्रिएल जिसस । टिम आफै युवा छ र त्यसमाथि आर्टेटाको धेरै विश्वास पनि छ, तय छ, आर्सनलबाट यसपल्ट धेरै आश गर्न सकिन्छ ।
म्यानचेस्टर युनाइटेड
विश्वास गर्न गाह्रो छ, म्यानचेस्टर युनाइटेड जत्तिको टिमले इंग्लिस प्रिमियर लिग नजितेको दस वर्ष भयो । अबको सिजन पनि म्यानचेस्टरमा के हुन्छ र के हुन्न भन्न सकिन्छ । क्लबको दृष्टिकोणले अबको सिजनको सबैभन्दा ठूलो विशेषता हो, म्यानचेस्टरले नयाँ प्रशिक्षकमुनि खेल्दैछ र उनी हुन्, निकै प्रतिभाशाली एरिक टेन हाग ।
म्यानचेस्टर ‘फलन जायन्ट्स’ हो भने त्यसलाई उकास्ने काम पनि अब यिनै डच प्रशिक्षकको हो । गत सिजन म्यानचेस्टर छैटौं स्थानमा रह्यो, जुन आफैमा निकै खराव हो । भनिन्छ, म्यानचेस्टरको ‘ड्ेरसिङ रुम’ माहौल निकै खराव छ । अहिले पनि क्रिस्टियानो रोनाल्डोको नखरा सकिएको छैन् । म्यानचेस्टरले केही राम्रा खेलाडी किनेको पनि छ, तर मूल प्रश्न त्यही हो, टेन हागले टिमलाई कसरी अगाडि बढाउने छन् ?
–बीबीसीको सहयोगमा ।