काठमाडौं । नेपाली कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले जमैका तलाबाजबाट 'द सिक्स्टी' क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने नयाँ प्रतियोगिताका लागि जमैकाले सन्दीपलाई टिममा राखेको छ ।
यस प्रतियोगिता ६० बलको हुनेछ । ३० बलको एक इनिङ रहने यस प्रतियोगिता ६ विकेटको हुनेछ ।
प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म संचालन हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा ३ टोलीको सहभागिता रहने छ ।
जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी लिगका लागि अनुबन्ध गरेको थियो ।
तर, सीपीएल आयोजना हुनु अघि आयोजना हुने द सिक्स्टीका लागि सन्दीपलाई जमैकाले टिममा राखेको हो ।
जमैकाले सीपीएलका लागि अनुबन्ध गरेको सन्दीपसहित पाँच विदेशी खेलाडीलाई नै यस प्रतियोगितामा खेलाउने छ ।

जमैकामा सन्दीपसँगै पाकिस्तानका मोहम्मद अमिर र इमाद वासिम रहेका छन् । अष्ट्रेलियाका क्रिस ग्रीन तथा दक्षिण अफ्रिकाका मिगाली पिटोरियस् रहेका छन्
सीपीएल भने अगस्ट ३० बाट सुरु हुनेछ । दशौं संस्करणको प्रतियोगिता सेप्टेम्बर ३० सम्म चल्नेछ ।
प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । यसमा सीपीएलका नै ६ टोली खेल्ने छन् ।