काठमाडौं । इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्सले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आइतबार स्टोक्सले एकदिवसीय अन्तराष्ट्रियबाट सन्यास घोषणा गरेको जनाएको छ ।
३१ वर्षीय स्टोक्सले घरेलु मैदानमा भोलि मंगलबार दक्षिण अफ्रीकाविरुद्ध पहिलो एकदिवसीय खेल्दै औपचारिक रुपमा सन्यास लिनेछन् ।
विश्वकप हिरो स्टोक्सले इंग्ल्यान्डका लागि १ सय ४ एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेका छन् । जसमा उनले २ हजार ९१९ रन जोड्दा ३ शतकसहित ७४ विकेट लिएका छन् ।
स्टोक्सको उच्च प्रदर्शनले २०१९ मा इंग्ल्यान्डले घरेलु मैदानमा भएको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो । फाइनलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई हराएको थियो ।
स्टोक्सले उक्त विश्वकपमा ४६५ रन बनाएका थिए । रोमान्चक फाइनलमा उनले अविजित ८५ रन बनाएका थिए । स्टोक्स फाइनलमा प्येलर अफ दि म्याच समेत बनेका थिए ।
स्टोक्स इंग्ल्यान्डको टेस्ट क्रिकेट टिमको भने कप्तान रहेका छन् ।