काठमाडौं । जोसे मोउरिन्होको कुरै बेग्लै । यी लेजेन्डरी पोर्चुगाली प्रशिक्षकले युरोपेली फुटबल महासंघका सबै तीन उपाधि जित्ने पहिलो र एक्लो हुन् । गत सिजन मात्रै उनले एएस रोमाका लागि युरोपा कन्फ्रेन्स लिग जिते । रोमाले फायनउडलाई हराएर पहिलो संस्करणको युरोपा कन्फ्रेन्स लिग जितेको थियो ।
त्यस अगाडि उनले युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग पनि जितिसकेका छन् । उनले आफ्नो प्रशिक्षक जीवनको सुरुमै पोर्टोका लागि यूईएफएकप र च्याम्पियन्स लिग जिते । त्यसपछि उनी चेल्सी लागे । त्यहाँ उनले घरेलु उपाधि मात्र जिते । त्यसपछि इन्टर मिलान गए र फेरि च्याम्पियन्स लिग जिते ।
रियल म्याड्रिडमा रहँदा पनि उनले कुनै युरोपेली उपाधि जित्न सकेनन् । तर म्यानचेस्टर आएयता उनले युरोपा लिग जिते । रोमामा त आएको पहिलो सिजनमै उनले युरोपा कन्फ्रेस लिग जितेका हुन् । यिनै ५९ वर्षीय मोउरिन्होले आफूले जितेका सबै युरोपेली उपाधिको ट्रफि राखेर ट्याटु खोपेका छन् ।
मोउरिन्होले ट्याटु खोप्नु अघि इन्स्ट्राग्रामा आफूले बनाउने ट्याटुको तस्बिर पनि राख्दै लेखेका थिए, ‘यो अब मैले बनाउने ट्याटु हुनेछ । म कुनै विशेष ट्याटु बनाउन चाहन्थें, जसले मैले जितेका युरोपेली उपाधिको प्रतिनिधित्व होस । म ती सबै क्लबको पनि सम्मान गर्न चाहन्छुं, जसका लागि मैले युरोपेली उपाधि जितें ।’
–मिररको सहयोगमा ।