काठमाडौं । जति नयाँ सिजन २०२२–२०२३ नजिकिंदैछ, बार्सिलोनाको नयाँ टिम उत्तिकै बलियो देखिन थालेको छ । पक्कै पनि यो बार्सिलोना टिमको सामना गर्न अरू सबैलाई गाह्रै हुनेछ । यो तथ्य जहाँ उसका समर्थकलाई खुसीको समाचार हो, त्यहीं प्रतिद्वन्द्वीका लागि चिन्ताको विषय हो । भर्खरै बार्सिलोनाले रोबर्ट लेवनडोस्कीलाई अनुबन्ध गरेको छ र यसले टिमको आक्रमणको धार अझ मजबुत भएको छ । यी पोलिस फरवार्डलाई ल्याउन बार्सिलोनाले खुबै मिहिनेत गरेको थियो ।
अन्त्यमा बार्यन म्युनिख लेवनडोस्कीका लागि चार करोड ५० लाख युरोमा बेच्न तयार भयो । बार्सिलोनाले उत्तिकै लामो मिहिनेत गरेर ओसमन डेम्बेलासँगको अनुबन्ध पनि नवीकरण गरेको छ । यस्तोमा जम्माजम्मी चार दिनभित्र बार्सिलोनाले आफ्नो आक्रमणलाई पूर्ण रूप दिएको छ र उसका लागि अगाडि खेल्ने खेलाडीमा माथिल्लो स्तर, गज्जब गुण सबै देखिएको छ, जुन धेरै फुटबल प्रशिक्षकले खालि कल्पना मात्र गर्न सक्छन् ।

लेवनडोस्की र पिएरे एमकिर अबमेयाङ दुवै गोलका भोका खेलाडी हुन्, यसमा कुनै शंका छैन् । लेवनडोस्की ठीक समयमा ठीक स्थानमा रहेर गोल गर्न माहिर खेलाडी हुन् । अबमेयाङले भने आर्सनलबाट आएयता बार्सिलोनाका लागि अघिल्लो सिजन नै आफूलाई प्रमाणित गरिसकेका छन् । एउटा अनुमान के गर्न सकिन्छ, भने यी दुवैले बार्सिलोनाका लागि अबको सिजन धेरै गोल गर्न सक्ने छन्, भलै यी दुवै खेलाडीको उमेर भने सायद केही बढी छ ।
लेवनडोस्की भए, ३४ । अबमेयाङ भने ३३ । उमेरकै कारण डेम्बेला र राफिन्हा भने उत्तिकै तीव्र गतिका हुने पनि अनुमान गर्न सकिन्छ, यसले विपक्षी टिमको रक्षापंक्तिलाई सजिलै समस्यामा पार्न सक्छ । फेरि टिममा फेरान टोरेस र अन्सु फाटी जस्ता खेलाडी पनि त छन्, जसलाई मज्जाले सुरुदेखि नै खेलाउन सकिन्छ । यी दुवै ‘विन्गर’ का रूपमा मध्यभागतिर छिर्न पनि सक्षम छन् । फाटी चोटबाट पूर्णत: मुक्त हुने हो भने उनको उपयोगितामा पनि कुनै शंका छैन् ।

खासमा बार्सिलोनाको आक्रमण मात्र सुधार भएको होइन्, उसको रक्षापंक्ति पनि उत्तिकै सुदृढ देखिएको छ । टिमको अग्रपंक्ति जसरी ठ्याक्कै मिलेको देखिन्छ, रक्षापंक्तिमा पनि त्यस्तै भएको छैन् । आन्द्रेस क्रिस्टेन्सन आएपछि रक्षापंक्तिमा सजिलो भएको छ । जुलेस काउन्डेको उपस्थितिले पनि रक्षापंक्ति बलियो नै हुनेछ । टिममा रोनाल्ड एराजु, जेरार्ड पिके र एरिक गार्सिया जस्ता खेलाडी त यसअघिदेखि नै छन् । सायद हल्का केही चिन्ता यही रक्षापंक्तिलाई लिएर हुन सक्छ ।

टिमको मिडफिल्ड भने बार्सिलोनाको आफ्नै घरमा हुर्केका खेलाडीले भरिएको छ, जस्तो, सर्जियो बुस्क्वेट, पेड्री, जाभी र निको । फ्रान्क केसी टिमले अनुबन्ध गरेको नयाँ खेलाडी भए । फ्रेन्क डे जोङको समस्या बार्सिलोनाले अहिलेसम्म सुल्झाउन भने सकेको छैन्, यदी उनी पनि टिममा बस्छन् भने उनको प्रतिभालाई लिएर शंका नै छैन् । तय जस्तै देखिन्छ, यसपल्ट बार्सिलोनाले घरेलु स्पेनी ला लिगामा मात्र होइन्, युरोपेली च्याम्पियन्स लिगमा पनि दरिलै चुनौती पेस गर्नेछ ।
–मार्काको सहयोगमा ।