काठमाडौं । हिजो शनिबार मात्रै रोबर्ट लेवनडोस्की बायर्न म्युनिख छाडेर बार्सिलोना जाने निश्चित भयो । यसलाई नयाँ सिजनको सबैभन्दा महत्त्वपूर्ण खेलाडी ‘ट्रान्सफर’ मान्दा हुन्छ । फेरि ट्रान्सफर त्यस्तो समय आएको छ, जति बेला बार्सिलोनाको एउटा योजना बाहिर मिडियामा आएको छ । नु क्याम्पको योजना रहेछ, पोलिस स्ट्राइकर लेवनडोस्कीलाई टिममा त्यही भूमिका दिने, जुन कुनै समय अर्जेन्टिनी लियोनल मेस्सीले खुबै मज्जाले स्वाद लिएर निभाउन गर्थे ।
मेस्सी सन् २०२१ मात्रै बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । लेवनडोस्की र मेस्सीले पछिल्ला समय दुई ठूला अवार्डका लागि एक आपसमा भिडेका छन् । जनवरीमा उनी सन् २०२१ को फिफा पुरुष उत्कृष्ट खेलाडी चुनिए । त्यस वर्ष मेसीले लेवनडोस्कीलाई उछिनेर बेलन डे’अर जितेका थिए । मेस्सीलाई यो अवार्ड दिइएपछि त्यसको खुलेरै विरोध पनि भएको थियो । धेरैको मत थियो, यो अवार्ड लेवनडोस्कीले नै जित्नु पर्ने थियो ।
सन् २०२० मा पनि उनी नै यस अवार्डका सबैभन्दा बलिया प्रत्यासी थिए । तर विवादास्पद ढंगले कोरोनाको कहरलाई बहाना बनाएर अवार्ड नै दिइएन्, भलै त्यो सिजन सबै खाले फुटबल कार्यक्रम पूरा भएकै थियो । जे होस, फिफा अवार्ड पाएपछि लेवनडोस्कीले कम्तीमा यति भने भने, ‘मलाई लाग्छ, बेलन डे’अर भन्दा त फिफा अवार्ड नै ठूलो ।’ उनको यो भनाइ बाहिर आएपछि मेस्सी मात्रै चुप लागेर बसेनन्, उनले पनि उत्तर फर्काइ हाले ।
मेस्सीको भनाइ थियो, ‘सबैलाई आफ्नो भनाइ राख्ने छुट छ । म पनि कसले के भन्दै हिड्छ भनेर ध्यान दिइरहन्न ।’ एउटा व्यवहारिक तथ्य र तर्क दुवै के हो भने लेवनडोस्कीले बार्सिलोनाका लागि राम्रो खेल्दा अवार्डहरू जित्ने सम्भावना जति बढी हुन्छ, त्यो सायद बार्यनमा हुन्न । फेरि बेलन डे’अर फुटबल पत्रकारको मतदानबाट दिइने अवार्ड हो, त्यसैले फिफा अवार्ड भन्दा केही फरक छ । अब लेवनडोस्की बार्सिलोनामा महत्त्वको भूमिका आउँछन् भने अवार्डको सम्भावना बढी हुन्छ नै ।
जे होस, अवार्डलाई छाडेर मैदानमा जाने हो भने कम्तीमा बायर्न र लेवनडोस्कीबीचको तनाववपूर्ण माहौल अब समाप्त भएको छ । बायर्नले भनेको छ, लेवनडोस्की आफ्नो क्लब इतिहासकै एक सफल खेलाडी रहेका छन्, उनलाई भविष्यका लागि शुभकामना । लेवनडोस्कीले पनि बायर्नका लागि खेल्नु पाउनु आफ्नो लागि गर्वको उपलब्धी भएको बताएका छन् । नत्र लेवनडोस्की बायर्न छाड्न चाहन्थ्यो भने बायर्न राम्रो मूल्य नपाए किन छाड्ने भन्ने मनसायमा थियो।
रिसै रिसमा लेवनडोस्कीले बायर्नको प्रशिक्षण सत्रमा ढिला ढिला गइरहेका थिए । बार्सिलोना जाने निश्चित भएपछि भने उनी शनिबार प्रशिक्षणको मैदानमा समयमै पुगे र सबैसँग बिदा मागे । बायर्नसँग उनको पछिल्लो समय सम्बन्ध पनि त्यति राम्रो थिएन् र यसका दुई कारण थिए, एक त उनको प्रशिक्षक जुनियल नागल्समनसँग कुरा मिलिरहेको थिएन्, दोस्रो बायर्नले दिइरहेको तबलमा पनि उनलाई चित्त बुझिरहेको थिएन् । खासमा लेनवडोनस्की जत्तिको खेलाडीलाई बार्सिलोनामा राम्रो गर्ने अवसर पनि त हुनु पर्छ ।
–मिररको सहयोगमा ।