काठमाडौं । क्रिस्टियन एरिक्सनले म्यानचेस्टर युनाइटेडसँग अनुबन्ध गरेपछि सबै खुसी नै देखिएका छन् । आखिरमा खुसी हुनुको पनि ठोस कारण रहेको छ । एक वर्ष अगाडिको युरो २०२० को बेला लगभग मृत्युकै मुख पुगेका एरिक्सन अहिले फेरि मैदानमा पुरानै पाराले फर्किसकेका छन् । यसलाई लिएर अचम्ममै मान्नेहरूको पनि कमी छैन् ।
एरिक्सनले अबको सिजनका लागि आफ्नो पुरानो क्लब टोटनहमका लागि पनि अनुबन्ध गर्न सक्थे । तर गरेनन् । बेलायती मिडियालाई विश्वास गर्ने हो भने उनले म्यानचेस्टरसँग अनुबन्ध गर्नुको एउटै कारण भने नयाँ व्यवस्थापक एरिक टेन हाग हुन् । ठ्याक्कै भन्दा एरिक्सनले टेन हागको मुख हेरे ।

अब कस्तोसम्म कुरा अगाडि आइरहेको छ भने एरिक्सन नयाँ सिजनमा म्यानचेस्टरका प्रमुख हतियार हुनेछन् र टेन हागको योजनामा उनी सबैभन्दा मुख्य खेलाडी हुन् । खास कुरा यस्तो छ, एरिक्सन स्वंय डच क्लब आयाक्सका उत्पादन हुन् । अनि टेन हाग अघिल्लो सिजनसम्म आयाक्सकै प्रशिक्षक थिए ।
एरिक्सनले टेन हागबारे खुबै राम्रा राम्रा कुरा सुनेका रहेछन् । फेरि म्यानचेस्टर आफै पनि त युरोपकै सबैभन्दा ठूलो क्लबमध्ये एक हो । भलै यसले पछिल्लो समय केही जित्न सकेको छैन् । तर यसलाई कम्ती मान्ने कुरा पनि त हुन्न । म्यानचेस्टरले प्रस्ताव राखेपछि एरिक्सनले ‘नाई’ नै भन्न सकेनन्, जुन स्वभावित पनि हो ।

–बीबीसीको सहयोगमा ।