काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका तीन खेलाडीले प्रि-सिजन टुर अन्तर्गत अमेरिकाको भ्रमण गुमाउने भएका छन् ।
सिटीका जोन स्टोन्स, इल्के गुन्डोगान र फिल फोडेनले अमेरिका भ्रमण गुमाउने भएका छन् ।
उनीहरुले अमेरिका प्रवेशका लागि पूरा गर्नु पर्ने आवश्यकताहरु पूरा नगरेको बताईएको छ ।
अमेरिका भ्रमण गुमाउने खेलाडीले क्रोएसियामा रहेका क्लब डेभलपमेन्ट टोलीसँग प्रशिक्षण गर्नेछन् ।
चोटको कारण एम्रिक लापोर्टे भ्रमण टोलीमा अटाएका छैनन् ।
तर, यसै समरमा अनुबन्धित अर्लिङ हालाण्ड, काल्भिन फिलिप्स र जुलियन अल्भारेज भ्रमणकारी टोलीमा अटाएका छन् ।
सिटीले अमेरिका भ्रमणमा बायर्न म्युनिख र क्लब अमेरिकासँग खेल्नेछ ।
त्यसपछि सिटीले ३० जुलाईमा लिभरपुलविरुद्ध कम्युनिटी शिल्डको फाइनल खेल्नेछ ।