काठमाडौं । कुनै उच्च, महान र उत्कृष्ट कुराको पनि जब गुणस्तरमा शंका उठ्न थाल्छ त्यतिबेला तपाईलाई महसुस हुन्छ कि, संसारमा केहिपनि स्थायी छैन । असफलता कुनै पनि खेलाडीको जीवनको एउटा अभिन्न भाग हो । खेलाडीहरु जतिसुकै कठिन भएपनि सफलताको मार्ग पत्ता लगाउन सक्छन् । उनीहरु आफ्नो खेल जीवनका उतारचढावलाई एउटा सिमामा खुम्च्याउन सक्छन । तर दुःखको कुरा विराट कोहलीका लागि भने भयानक खडेरी झनै अकल्पनीय सिमासम्म फैलिरहेको छ ।
हो, उनै कोहली जसले विश्व क्रिकेटको उत्कृष्ट बलिङ आक्रमणलाई समेत धुलो पारे । उनले विभिन्न परिस्थितिहरूमा रन बनाए । उनी यस्ता रन मेसिन थिए कहिलेकाँही त लाग्थ्यो कोहली रमाईलोको लागि स्कोर गर्छन । ब्याटिङमा स्थिरता, स्तर र साहसले आफुलाई परिभाषित गरे, चाहे त्यो जुनसुकै फर्म्याट किन नहोस । उनले लगभग एक दशकमा प्रहार गरेको ७० शतकले सबैकुरा पूर्णरूपमा आफै व्याख्या गर्दछ ।

कोहली भारतका सबैभन्दा शक्तिशाली कप्तान थिए । उनले भारतीय क्रिकेटलाई विश्वभर मार्केटिङ गरे । जब बीसीसीआई अन्तरिम पदाधिकारीहरूद्वारा सञ्चालित थियो उनले त्यो समयको नेतृत्व पनि गरे । भारतीय क्रिकेटका सबैभन्दा ठूला स्टारको रिसलाई कसरि शान्त पार्ने बीसीसीआईलाई राम्रोसँग थाहा हुन्थ्यो । विराटको नियत र उदेश्यमा शंका गर्ने कुनै कारण थिएन । उनी खेल जित्न सबै आधारहरु प्रयोग गर्थे, डिमाण्ड गर्थे, हाँस्थे, रिसाउँथे ।
भारतले विश्वलाई धेरै महान क्रिकेटर दिएको छ तर विराट कोहली जत्तिकै महत्वाकांक्षी कोही छैन । आफ्नो महत्वाकांक्षा पूरा गर्न कोहलीले सचिन तेन्दुलकरको प्राविधिक पक्ष, धोनीको मेहनत र फिटनेसलाई अनुशरण गरे । जो क्रिकेटर मात्र नभई विश्वका अन्य शीर्ष एथलीटहरूको सूचीमा थिए ।
तर, अहिले कोहली माथी किन प्रश्न उठिरहेको छ ?
सर्वकालीन महान ब्याट्सम्यान र उनीहरुले गरेको ब्याटिङको जुनसुकै चार्ट हेर्नुहोस । तपाइले त्यसमा कहिँ न कहिँ कोहलीलाई रेकर्ड आफ्नो नाममा गरिरहेको पाउनुहुन्छ । दायाँ हाते कोहलीको एकदिवसीय र टी- ट्वान्टीमा क्रमशः ५८.०७ र ५०.१२ को औसत छ । टेस्टमा ४९.५३ को औसत । १४ वर्ष भन्दा बढी समयको अन्तर्राष्ट्रिय करियरमा यी संख्याहरू ठुला मात्र हैनन् विशाल हुन् । मुख्य प्रश्नको उत्तर यहीँ छ । जब तपाई आफुलाई यति अब्बल दर्जामा लैजानुहुन्छ भने तपाईसँग आशाहरु पनि समान रुपमा सँगसँगै बढ्दै जान्छन् ।

२०१६ देखि २०१८ सम्म उनले १ सय ४० इनिङमा २९ शतक र ३२ अर्धशतक जमाए । निश्चित रूपमा यिनै आंकडा अहिले फिक्का पर्दा कोहली प्रश्नहरुको घेराबन्दीमा छन् ।
नोभेम्बर २०१९ मा ईडन गार्डन्स कोलकातामा खेलिएको पिङ्क बल टेस्टमा बंगलादेशविरुद्धको स्टाइलिस १ सय ३६ रन कोहलीको ब्याटबाट निस्केको अन्तिम शतक थियो । त्यसपछि मौन छ कोहलीको ब्याट । ७१ औं शतकको खोजिमा बितेको तीन वर्षको अवधि ७१ असफल प्रयासहरु भन्दा धेरै भईसक्यो।
कोहलीको पतनको प्रमुख कारण:
स्वाभाविक रूपमा खेलाडीको प्रदर्शनमा गिरावट आउनु आत्मविश्वासको कमीलाई मान्न सकिन्छ । विशेषत: कोहलीको मामलामा उनीसँग जोडिएको ठुलो अपेक्षा हो । उनी आकांक्षाको यस्तो तिखो घोचाई महसूस गरिरहेका छन् जसलाई 'ऐया' भनेर कराउन पनि सक्दैनन् । कोहली हरेकपल्ट जब बाहिर निस्किन्छन, लाखौँ समर्थक आशा गर्छन कि उनी रन बनाउनेछन् । ७१ औं शतक बनाउनेछन् । सबै तनावलाई पछाडी छोड्नेछन् । जुन आफैमा एउटा ठुलो तनाब हो।
पूर्व क्रिकेटर र कमेन्टेटर आकाश चोपडाले एकपल्ट भनेका थिए, 'विराट कोहली एक नराम्रो सपनासँग जुधिरहेका छन् । कसैको लागि नराम्रो सपना सकिन्छ । साथसाथ नराम्रो समय पनि सकिन्छ । जुन एटेन्सन विराटले पाइरहेका छन् यो हेर्दा अहिले विराट कोहली हुनु एकदम गाह्रो कुरा हो ।'
कप्तानीको असफलताले भारतका मुख्य खेलाडी कोहलीको पहिल्यैबाट डगमगाएको आत्मविश्वासमा झनै ह्रास उत्पन्न भएको देखिन्छ । विश्वकप २०२१ को अन्त्यसँगै टी-ट्वान्टी कप्तानी छोडने इच्छा व्यक्त गरेको केहि समय भित्रै तत्काल कोहलीलाई एकदिवसीय कप्तानीबाट पनि हटाइएको थियो । कोहली र बोर्डका अध्यक्ष सौरव गांगुलीबीच टकराव भएका समाचार पनि आए । जसले 'कम्युनिकेसन ग्याप' को संकेत दियो।

यस बाहेक, उनले आश्चर्यजनक रूपमा टेस्ट कप्तानी छाड्ने निर्णय गरे । दक्षिण अफ्रीकाविरुद्धको श्रृंखला गुमाएपनि ६८ खेलमा ४० जितको शानदार रेकर्डसहित भारतीय टिमको नेतृत्व गरे । पूर्व भारतीय कप्तान आफुलाई एकदिवसीय कप्तानीबाट हटाउने बीसीसीआईको निर्णयबाट भने खुसी थिएनन् ।
सायद उनी अब त्यति आत्मविश्वासी देखिदैनन् जो फेरी त्यही बिन्दुबाट नयाँ इनिङको सुरुवात गर्न सक्छन् । त्यसको विपरित उनले दबाब लिए आफूमाथि । कोहलीको 'एग्रेसिभ नेचर' ले भूतपूर्व क्रिकेटर, आलोचक र विश्लेषकहरुको मुख बन्द गराउने चक्करमा दिन प्रतिदिन उनलाई नै सिध्याउन थाल्यो । कोहलीको पतनको सबैभन्दा ठुलो कारण यहि हो ।
समग्रमा, कोहली वर्तमान समयमा आफुलाई एक अँध्यारो कुनामा भेटिरहेका छन् । मौनताको स्वर यति ठुलो छ कि आशाको किरण पनि कतै बिलाइरहेको छ ।
-एजेन्सीको सहयोगमा