नयाँ प्रशिक्षकले भने, ‘नेयमार चाहिन्छ’

एजेन्सी । विश्व फुटबलका महङ्गा फुटबलर नेयमार यस समर सिजनमा सरुवा हुने चर्चा व्यापक छ । तर उनी पेरिसमा नयाँ अध्यायको सुरुवात गर्ने सम्भावना पनि बढेर गएको छ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा नयाँ प्रशिक्षक आएका छन्, क्रिस्टोफ गाल्टियर । उनै गाल्टियरले नेयमार क्लबमै बसेको हेर्न चाहेको बताएका छन् । पीएसजीका नयाँ प्रशिक्षकले नेयमारलाई लिएर आफुसँग स्पष्ट योजना रहेको बताएका छन् । उनले ब्राजिली स्टार नेयमारबाट उत्कृष्ट प्रर्दशन निकाल्न आफुसँग स्पष्ट सोच रहेको दाबी गरेका छन् ।
फ्रान्सेली क्लब लिलीका पूर्व प्रशिक्षक गाल्टियर मंगलबारमात्र पीएसजीको प्रशिक्षकमा नियुक्त भए । मौरिसियो पोचिटिनोलाई बर्खास्त गर्ने बित्तिकै पीएसजीले गाल्टियरलाई नयाँ प्रशिक्षकको रुपमा सार्वजनीक गरेको हो ।
अर्जेन्टिनी प्रशिक्षक पोचिटिनोले पीएसजीलाई च्याम्पियन्स लिगमा सफलता दिलाउन सकेनन् । उनी असफल भैरहदा नेयमारको सरुवालाई लिएर समेत धेरै विषय बाहिर आएको थियो । तर नयाँ प्रशिक्षक गाल्टियरले ३० वर्षिया फरवार्ड आफ्नो योजनाको केन्द्रमा रहेको बताएका छन् ।
पीएसजीले राम्रो प्रस्ताव आएको अवस्थामा नेयमारलाई बेच्न तयार रहेको समाचार सार्वजनीक भएको थियो । विश्व कीर्तिमानी मुल्य सहित पीएसजी पुगेका नेयमारले मुल्य अनुसारको प्रर्दशन र नतिजा दिन चुक्दै आएका थिए । उनी सन् २०१७ मा २ सय २२ मिलियन युरोमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रान्सेली शहर पेरिस पुगेका थिए ।
पीएसजीबाट सरुवा हुने चर्चासँगै प्रिमियर लिग क्लब चेल्सी, म्यानचेस्टर युनाइटेड र न्युक्यासल युनाईटेड नेयमारसँग जोडिएका थिए । तर पीएसजीका नयाँ प्रशिक्षक गाल्टियर नेयमार जत्तिको क्षमता भएका खेलाडी क्लबबाट बाहिरिएको हेर्न चाहदैनन् ।
‘उनी विश्वस्तरीय खेलाडी हुन् । कुन प्रशिक्षक उनलाई टिममा चाहदैनन् र ? हामीले टिममा सन्तुलन खोज्नुपर्छ ।’ पहिलो प्रेस कन्फरेन्समा गाल्टियरले भने ।
‘मसँग प्रस्ट विचार छ, उनीबाट मलाई के चाहिएको छ भनेर । मैले उनीसँग अहिलेसम्म भेटेको छैन । तर उनी मसँग बसेको हेर्न चाहन्छु ।’ उनले थपेका छन् ।














