काठमाडौं । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड आउन सहमत भएका छन् ।
प्रिमियर लिग क्लब ब्रेन्टफोर्डका एरिक्सन फ्री ट्रान्सफरमा युनाईटेड आउन सैदान्तिक रुपमा सहमत भएको बीबीसीले जनाएको छ ।
युनाईटेडले एरिक्सनसँग ३ वर्षको सम्झौता गर्ने तयारी गरेको बताईएको छ । यद्दपी युनाईटेडमा एरिक्सनको मेडिकल भएको छैन ।
ब्रेन्टफोर्डसँग एरिक्सनको सम्झौता जुनको अन्तिमबाट सकिएको थियो ।
एरिक्सनले गत सिजन ब्रेन्टफोर्डसँग एक सिजनको लागि सम्झौता गरेका थिए ।
गत सिजन उनले ब्रेन्टफोर्डका लागि ११ प्रिमियर लिग खेलेका थिए ।
३० वर्षीय एरिक्सन दुई वर्षपछि प्रिमियर लिग फर्किएका हुन् ।
एरिक्सन सन् २०२० मा टोटेनहमबाट इन्टर मिलान गएका थिए ।
तर, एरिक्सनले युरोकप दौरान भएको हृदयघातपछि ब्रेन्टफोर्डबाटै पुनरागमन गरेका हुन् ।
इटालियन क्लब इन्टरसँगको सम्झौता रद्द गरेपछि एरिक्सन इंग्लिस क्लब आएका हुन् ।
मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) नहटाएसम्म इटालीमा खेल्न नपाउने भएपछि एरिक्सन र इन्टरले सम्झौता रद्द गरेको हो ।
हृदयघात भएपछि डेनमार्कका मिडफिल्डर एरिक्सनको शरीरमा आइसिडी जडान गरिएको छ ।
युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए ।