एजेन्सी । रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोड्ने इच्छा ब्यक्त गरेका छन् । उनले म्यानचेस्टर छाड्ने विषयमा क्लबसँग छलफल समेत गरेका छन् ।
रोनाल्डोले ओल्डट्राफोर्ड क्लबसँग आफ्नो इच्छा प्रस्टसँग राखेका छन् । क्लबका लिजेण्ड खेलाडी रोनाल्डो एक वर्षअघि मात्र युनाइटेडमा आबद्ध भएका थिए ।
रोनाल्डोलाई अनुबन्ध गर्नेको सुचि एजेन्ट जर्ज मेन्डिससँग रहेको कतिपयको दाबी छ ।
करियरको उत्तरार्धमा रहेका रोनाल्डो च्याम्पियन्स लिग खेल्न चाहन्छन् । युनाइटेडले गत सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन सकेन । अर्थात क्लब प्रिमियर लिगको शीर्ष चारभित्र अटाउन सकेन । रोनाल्डो आफ्नो सम्मानका खातिर च्याम्पियन्स लिग क्लबमा रहन चाहन्छन् ।

३७ वर्षिय रोनाल्डोले अनुरोध गरेका छन्, उपयुक्त प्रस्ताव आएको अवस्थामा क्लबले छोड्न तयार होस् ।
रियल मड्रिड र युभेन्ट्सका पूर्व स्टार खेलाडी यस सिजन समेत क्लबले उपाधिमा दाबेदारीता दिने कुरालाई विश्वास गरिरहेका छैनन् । उनी लिगको शीर्ष चारमा रहने विषयमा पनि विश्वस्त छैनन् ।
करियरको अन्तिम समयमा रहेका रोनाल्डो उच्च स्तरको खेल प्रर्दशनलाई निरन्तरता दिन चाहन्छन् । उनी थप एक सिजन कम्तिमा च्याम्पियन्स लिग खेल्न चाहन्छन् ।
क्लब सम्हाल्न आइपुगेका नयाँ प्रशिक्षक एरिक टेन हेग पोर्चुगिज खेलाडीलाई मनाउन असफल देखिएका छन् ।
एजेन्ट मेन्डिस यसअघिनै सम्भावित क्लबको खोजी गरिरहेका थिए । जसमा बायर्न म्युनिख र चेल्सी जोडिएका छन् ।
इटालियन मिडियाले रोनाल्डो सिरि ए आउने सन्दर्भमा समेत समाचार दिईरहेका छन् ।

युनाइटेडले रोनाल्डोलाई बिक्रीका लागि उपलब्ध नरहेको बताउने गरेको छ । उसले नयाँ प्रशिक्षक टेन हेगको योजनाको रोनाल्डो मुख्य हिस्सा रहेको दाबी गर्छ ।
नयाँ सिजनका लागि युनाइटेडले शीर्ष फरवार्डको रुपमा डार्विन नुनेजलाई निकै जोड गरेको थियो, तर सफल हुन सकेन । उसले अजाक्सका विङ्गर एन्टोनीलाई विकल्पको रुपमा हेरेको छ । प्रशिक्षक हेगले उनलाई अनुबन्धन गर्न सफल हुने क्लबको विश्वास छ ।