सुवास नेम्वाङ भन्छन्, 'विश्वकप अर्जेन्टिनाले जित्छ'

काठमाडौं । आगामी नोभेम्बर २१ देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलको च्याम्पियन टोलीका बारेमा विभिन्न अनुमान हुन थालेका छन् ।
यसै सन्दर्भमा शुक्रबार एमाले संसदीय दलका उपनेता तथा संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले अर्जेन्टिनाले विश्वकपको उपाधि जित्ने दाबी गरेका छन् ।
लियोनल मेस्सीको फ्यान रहेका नेम्वाङले कतारमा हुने विश्वकपको उपाधि मेस्सीको टोली अर्जेन्टिनाले जित्ने दाबी गरेका हुन् ।
नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै नेम्वाङले भने, 'यो वर्ष अर्जेन्टिनाले, मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ ।'
अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको छ ।
तर, क्लब फुटबलमा सफल मेस्सीले अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन सकेका छैनन् ।
नेम्वाङले आफुले पछिल्लो समय मेस्सी आबद्द पीएसजी र अर्जेन्टिनाको खेल हेर्ने गरेको बताए ।
'अहिले पनि राति १२/१ बजेतिर उठेर फुटबल हेर्छु । इंग्लिस प्रिमियर लिग, लालिगा...। आजकल मलाई साह्रै मन पर्ने खेलाडी पीएसजी पुगेको हुनाले बार्सिलोना हेर्न छाडेको छु,' नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै उनले भने, 'अर्जेन्टिना र पीएसजीको फुटबल हेर्छु । कतिबेला आउँछ यहाँहरूलाई थाहै छ ।'







-1762856022963.jpg&w=3840&q=75)





