महिला साफ च्याम्पियनसिप भदौमा गर्ने प्रस्ताव

काठमाडौं । नेपालले महिला साफ च्याम्पियनसिप आगामी भदौमा आयोजना गर्ने प्रस्ताव गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको हो ।
एन्फाका महासचिव किरण राईले शुक्रबार बंगलादेशको ढाकामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव अनवरुल हक हेलालसँग भेटवार्ता गर्दै उक्त मिति प्रस्ताव गरेको हो ।
साफ महासचिव हेलालले प्रस्तावित मितिमा सकारात्मक रहेको बताएको एन्फाले जनाएको छ ।
एन्फाले शनिबार हुने साफको कंग्रेसमा महिला साफ आयोजनाका लागि औपचारिक प्रस्ताव पेश गर्नेछ ।
साफको कंग्रेसले अनुमोदन गरेमा महिला साफ नेपालमा आयोजना हुनेछ ।

साफको कंग्रेसमा नेपालबाट महासचिव राईसहित , न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशी र एन्फाका पूर्व सदस्य विकास नारायण श्रेष्ठ सहभागी छन् ।
नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।
विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।







-1762856022963.jpg&w=3840&q=75)





