संकटामाथि एनआरटीको पुनरागमन जित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी) ले मैत्रीपूर्ण खेलमा संकटा क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको मैत्रीपूर्णमा एनआरटीले ए डिभिजन प्रतिद्वन्दी संकटालाई ३-२ गोल अन्तरले हराएको हो ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने संकटाले लिएको थियो ।
खेलको १५ औं मिनेटमा आशिष सुमनले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा कप्तान रन्जित धिमालले गोल गर्दै एनआरटीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४७ औं मिनेटमा मोसेसले गोल गर्दै पुन संकटालाई २-१ को अग्रता दिलाए ।
तर, ५८ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै एनआरटीलाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६० औं मिनेटमा दिपेश घलेले गोल गर्दै एनआरटीलाई ३-२ को जित दिलाए ।
प्रि-सिजन टुर अन्तर्गत मलेसिया र थाइल्याण्ड भ्रमण अघि एनआरटीले मैत्रीपूर्ण खेल खेलेको हो ।
एनआरटीले मलेसियामा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिताको खेल्नेछ ।
टीवाईटी कपमा एनआरटीले मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्ने छ । लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुङ्गो लाग्ने छ।
पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ ।
यस्तै एनआरटीले थाईल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने समेत जनाएको छ । जसमध्ये एक खेल थाई लिग वान क्लब छोनबुरी एफसीसँग खेल्ने छ।















