लिग जित्न एनआरटीको पूर्व तयारी

काठमाडौं । गत सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) तेस्रो स्थानमा रह्यो ।
अघिल्लो सिजन 'टप थ्री' मा रहेपछि एनआरटी नयाँ सिजनको लिगका लागि थप हौसिएको छ । एनआरटीले आगामी सिजनको लिग जित्ने सपना बुन्न थालेको छ ।
पाँच पटकको च्याम्पियन एनआरटीले नयाँ सिजनको तयारी स्वरूप प्रि-सिजन टुरको घोषणा समेत गरिसकेको छ । जबकी अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ सिजनको लिगको घोषणा नै गरेको छैन ।
प्रि-सिजन टुरका लागि एनआरटीले मलेसिया र थाइल्याण्डको भ्रमण गर्दैछ । मलेसियामा एनआरटीले तीन टोली सहभागी टुवान याङ टेरुतमा (टीवाईटी) कप खेल्नेछ ।

मलेसियाको भ्रमणपछि एनआरटी थाइल्याण्ड भ्रमणमा जानेछ। थाइल्याण्डमा एनआरटीले थाई लिग वान क्लब छोनबुरी एफसीगरि ३ मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
एनआरटीका महासचिव नरेन्द्रमान श्रेष्ठले आगामी सिजन उपाधि जित्ने जोशका साथ तयारी थालेको बताउँछन् ।
'अघिल्लो सिजन हामी तेस्रो हुन्छौं भनेर भएको हैन च्याम्पियन हुनेनै लक्ष्य थियो । तर, अब अर्को सिजन चाहिँ उपाधिनै जित्ने जोशका साथ अहिले देखिनै तयारि थालेका हौं,' महासचिव श्रेष्ठले भने, 'अरु टिम सुतिरहेका छन् हामी चाहि टिम बनाउन लागौं भनेर सुरु गरेका हौं ।'
श्रेष्ठले मलेसिया र थाइल्याण्ड भ्रमणको अर्को उद्देश्य हाम्रा खेलाडीको स्तर कस्तो छ भनेर जाँच गर्न भएको बताए ।

एनआरटीले प्रि-सिजन टुर अघि स्वदेशी तथा विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । एनआरटीले मछिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिग खेलेका मिडफिल्डर विशाल राई, डिफेन्डर रन्जित धिमाल, डिफेन्डर छिरिङ गुरुङ, मिडफिल्डर गौरव श्रेष्ठ र अट्याकीङ रुमेश बर्तौलालाई समेत अनुबन्ध गरेको छ ।
त्यस्तै एनआरटीले संकटाबाट ए लिग खेलका मिडफिल्डर सुवास गुरुङ, थ्री स्टारबाट खेलेका सन्जोक राईलाई अनुबन्ध गरिएको जनाएको छ । एनआरटीले जावलाखेलबाट ए लिग खेलेका भारतीय मिडफिल्डर निकालोस फर्नान्डेज र क्यामरुनका गोलकिपर टोलो ल्यान्ड्रीलाई समेत अनुबन्ध गरेको छ ।

प्रि-सिजन टुरका लागि एनआरटीले क्लबका पूर्व खेलाडी तथा ए लाइसेन्स कोर्ष गरिसकेका प्रशिक्षक जीवन सिन्केमानलाई टिम हेर्ने जिम्मेवारी दिएको छ । गत सिजनको लिगमा उनी सहायक प्रशिक्षक थिए ।
राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी खेलाडीहरु सामेल भएको कारण सन्तुलित टिम बनेको प्रशिक्षक जीवन बताउँछन् ।
'हाम्रो टिम नयाँ छ । अघिल्लो सिजन भन्दा खेलाडीहरु परिवर्तन गरेका छौं । त्यहि भएर टिममा खेलाडी परिवर्तन भएपनि अघिल्लो सिजन भन्दा बलियो र राम्रो छ,' उनले भने ।
प्रशिक्षक जीवनले टोलीको लक्ष्य शीर्ष डिभिजनको लिगको उपाधि जित्न नै रहेको बताए ।
'राष्ट्रिय टोलीबाट खेलेका अनुभव प्राप्त खेलाडी ल्याएका छौं । नयाँ विदेशी खेलाडी दुई जना ल्याएका छौं । पुराना युवा खेलाडीमा अघिल्लो सिजन हामीले अपेक्षा गरेअनुसार प्रदर्शन गरेका खेलाडी ल्याएका छौँ । त्यसैले टीम सन्तुलित र राम्रो छ,' जीवनले थपे, 'एनआरटी फुटबल क्लबको रुपमा म खेलाडी हुँदा देखिनै हाम्रो एउटै लक्ष्य लिग जित्ने हो ।'

प्रशिक्षक जीवनले यस भ्रमण प्रशिक्षकको रुपमा आफुलाई प्रमाणित गर्ने मौका रहेको र यसलाई चुनौती र मौकाको रूपमा लिएको बताए ।
प्रि-सिजन टुरका लागि एनआरटीमा अनुबन्धित डिफेन्डर रन्जित धिमालले यस्ता टुरले खेलाडीलाई धेरै फाईदा पुग्ने बताउछन् ।
'यस्तो खाले टुरहरुले खेलाडीलाई धेरै भन्दा धेरै अवसर पाउँछ यसले गर्दा आईरहेको नयाँ खेलाडी अथवा पुरानै खेलाडीलाई पनि राम्रो अनुभव हुन्छ,' उनले भने, 'एउटा क्लबको खेलाडीले यस्तो अवसर पाउनु एकदमै राम्रो हो ।'

धिमालले लामो समय नखेलेकाले खेलाडीको फिटनेसमा अलि समस्या रहेको बताए । उनले चार पाँच वटा क्लबबाट खेलाडी अनुबन्ध भएकाले टिम सेटमा समस्या रहेपनि अहिले सुधार भइरहेको बताए ।





-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)

