‘होटल छाडेर खेलाडी आफै गएको हैनन्’
काठमाडौं । राष्ट्रिय फुटबल टिमका नयाँ कप्तान नवयुग श्रेष्ठले खेलाडी प्रशिक्षक विवादमा खास खुलासा गरेका छन् ।
एसिया कप छनोटको खेल सकेर नेपाल फर्किए लगत्तै त्रिभुवन विमानस्थलमा कप्तान श्रेष्ठले होटल छाडेर जाने निर्णयमा खेलाडीको गल्ती नभएको बताए ।
‘होटल छाडेर जाने कुरामा खेलाडी आफै गएका हैनन् ।’ उनले भनेका छन्, ‘प्रशिक्षकले खेलाडीलाई जान सक्छौ भने । यो चित्त बुझ्दो छैन ।’
राष्ट्रिय टिममा कप्तान किरण चेम्जोङ सहित सिनियर ११ खेलाडीलाई टिम बाहिर राख्दै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले एसिया कप छनोटका लागि टिम तयार गरेका थिए ।
अधिकांश नयाँ अनुहार समावेश टिमले कुवेतमा एसिया कप छनोट खेलेर फर्किएको छ । छनोटमा अंक विहिन हुँदै स्वदेश फर्किएको नेपाली टिमको प्रर्दशन बिर्सनलायक रह्यो ।
स्वदेश फर्किए लगत्तै सञ्चारकर्मीसँग कप्तान श्रेष्ठले पुराना खेलाडी भएको भए नतिजामा केही फरक पर्न सक्ने धारणा राखे ।
‘भैरहेका खेलाडी एक्कासी टिममा नहुँदा एकखालको फरक परिहाल्छ । किनभने नयाँ खेलाडीले राम्रो गरे । पुराना मुख्य खेलाडी भएको भए नतिजा केही फरक हुन सक्थ्यो ।’ श्रेष्ठले भने ।
प्रशिक्षणको दौरान राष्ट्रिय टिमको व्यवस्थापनलाई लिएर उपकप्तान रोहित चन्द र प्रशिक्षकबीच नोकझोक चलेको थियो । सोही आधारमा मुख्य प्रशिक्षक अलमुताईरीले रोहितलाई टिम बाहिर राख्ने निर्णय गरका थिए ।
अधिकांश सिनियर खेलाडीले रोहितको मागमा आफुहरुपनि एक्यबद्धता रहेको बताएपछि अलमुताईरीले खेलाडीलाई बारम्बार टिम छाडेर जान भनेका थिए । त्यसपछि सिनियर ९ खेलाडी बन्द प्रशिक्षणबाट बाहिर निस्किएका थिए । विभागको निर्देशनपछि नवयुग सहितका केही खेलाडी बन्द प्रशिक्षणमै रहे ।
नवयुगलाई कप्तानको जिम्मेवारी दिदै मुख्य प्रशिक्षक अलमुताईरी कतार उडेका थिए । कुवेतमा भएको एसिया कप सम्पन्न गरेर अलमुताईरीले केही समय एन्फाबाट बिदा लिएका छन् ।
खेलाडी प्रशिक्षक विवादमा गठन भएको छानविन समितिले एसिया कपपछि अलमुताईरीलाई हटाउँदै नयाँ प्रशिक्षक राख्न सुझाव दिएको छ । आसन्न चुनावपछि अलमुताईरीको विषयमा औपचारिक निर्णय लिने एन्फाको तयारी छ ।







-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)




