निर्माणाधीन खेल पूर्वाधारका लागि बजेट बिनियोजन गरिने

काठमाडौं । खेलकुद मन्त्रालयले निर्माणाधीन रहेका खेल पूर्वाधारहरुलाई निरन्तरता दिन स्थानीय तहहरुलाई आवश्यक बजेट बिनियोजन गर्ने भएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा खेलकुद मन्त्रालयमाथिको बिनियोजित बजेटका बिषयमा उठेका प्रश्नको जवाफ दिदै शिक्षामन्त्री देवेन्द्र पौडेलले निर्माणाधीन खेल पूर्वाधारहरुलाई निरन्तरता दिन स्थानीय तहहरुलाई आवश्यक बजेट बिनियोजन गर्ने जानकारी दिए ।
पौडेलले एक स्थानीय तह एक पूर्वाधार निर्माण गर्ने अवधारण अनुसार निर्माणाधीन रहेका खेल पूर्वाधारहरुलाई निरन्तरता दिदै आगामी आर्थिक वर्षमा १ सय ७१ वटा पालिकामा नै बजेट जाने प्रस्ताव गरिएको जानकारी दिए ।
उनले स्थानीय तहमा खेल पूर्वाधार निर्माणका लागि कार्यबिधि अनुसार मन्त्रालयले सार्वजनिक सूचना जारी गरि स्थानीय तहबाट नै उपयुक्त स्थानको छनोट गरि पूर्वाधार निर्माणका लागि प्रस्ताव माग गरिएको र सोहि प्रस्तावका आधारमा मापदण्ड पुगेका स्थानीय तहहरुलाई बजेट बिनियोजन गरिएको समेत बताए ।
त्यस्तै उनले खेलकुद र खेलाडीहरुको बिकास बिद्यालय तहबाट नै बिकास गर्नका लागि बिद्यालयहरुलाई खेलकुल उद्यमस्थलका रुपमा बिकास गर्न यसै आर्थिक वर्षबाट एक बिद्यालय एक खेल मैदान प्रस्ताव गरिएको जानकारी गराए।
पौडेलले निर्माणाधीन पूर्वाधारणलाई प्राथमिकतामा राखिएको र नयाँ पूर्वाधारलाई पनि अघि बढाउने दावी गरे ।
जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा ढोरपाटन हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर , मदन भण्डारी रंगशाला लगायत केहि आयोजनाहरुमा पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन हुन नसकेको मन्त्री पौडेलको भनाई छ ।
खेलकुद मन्त्री महेश्वरजंग गहतराज बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा रुस प्रस्थान गरेपछि शिक्षा मन्त्री पौडेलले उक्त मन्त्रालयका बारेमा उठेका प्रश्नको जवाफ दिएका हुन् ।