काठमाडौं । क्यामरुनको एभेनिर फुटबल क्लब हेटौडामा जारी चौंथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडाको पिप्ले रंगशालामा बिहीबार भएको खेलमा चर्च व्वाईज क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै क्यामरुनी टोली सेमिफाइनलमा प्रवेश गरेको हो ।
अब क्यामरुनी टोलीले फाइनल प्रवेशको लागि जेठ २८ गते त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा देशका शीर्ष क्लबसहित १२ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ नगद र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई पनि २५ हजार नगद र ट्रफी प्रदान गरिने छ ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको मोटरसाइकल प्राप्त गर्नेछन् ।