काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति नेपाल जोर्डनसँग २-० गोल अन्तरले पराजित भएको हो ।
मध्यपूर्वको मौसम नेपाली फुटबलको लागि जहिल्यै 'पराई' हुने गरेको इतिहास छ । नेपाल उच्च पहाडी हिमशृंखलामा अवस्थित देश हो । यहाँको सितल हावापानीमा आफ्नो फुटबल कला विकास गरेका नेपाली खेलाडी को निमित्त मध्यपूर्वको गर्मी असामान्य हुन्छ । यद्दपी पछिल्ला वर्षहरुमा त्यहाँको वातावरणसँग अभ्यस्त हुनको लागि विभिन्न प्रयासहरु भईरहेका छन् । यसपटक पनि नेपाली टोली कतारमा १० दिनको बसाई सकेर मध्यपूर्वको वातावरण अनुकूल बनाउन नेपाल केही दिनअघि कुवेत आइपुगेको थियो ।
एकदमै भिन्न परिस्थितिमा 'दुर्घटनावश' निर्माण गरिएको वर्तमान नेपाली टोलीले बलियो जोर्डनविरुद्ध जुन खेल प्रदर्शन गर्यो त्यसले साँच्चै नै हारका बावजुत पनि आम फुटबल प्रेमीमाझ सकारात्मक सन्देश भने दिन सफल भएको छ ।
जोर्डनविरुद्ध भिड्नु अगाडी धेरैले अनुमान गरेका थिए नेपालले सायद लज्जास्पद हार बेहोर्न सक्छ । किनकि नेपाली फुटबलमा आफ्नो खेलले लामो समयदेखि प्रभाव छोडेका ठुला नामहरु टोलीमा थिएनन्। केहि नयाँ अनुहारलाई समेट्दै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी मध्यपूर्वको यात्रामा निस्किएका थिए । स्वभाविकरुपमा यो टोलीलाई आफ्नो बाटो बनाउन त्यति सजिलो थिएन ।
जुनसुकै यात्राको थालनी गर्दा चालिने पहिलो पाइलाले ठुलो अर्थ राख्छ । यसर्थ एएफसी एसियन कप छनोटमा नेपाली टोलीले चालेको पहिलो पाइलाले सुखद यात्राको संकेत गरेको छ । यस यात्राका कमान्डर अलमुताईरीले भनिसकेका छन् कि 'हाम्रो गन्तव्य एसियन कप होइन । सन् २०२६ को विश्वकप छनोटनै हाम्रो मुख्य गन्तव्य हुनुपर्छ ।'
अलमुताईरीको एउटा विशेषता छ । उनी जहिल्यै 'दिर्घकालिन योजना' को बारेमा बोल्छन । आधुनिक फुटबलको एउटा प्रमुख माग भनेको प्रशिक्षकको 'भिजन' पनि हो र यस मामला मा अलमुताईरी नेपालले अहिलेसम्म पाएका उत्कृष्ट प्रशिक्षक हुन् यसमा कुनै दुइ मत छैन ।
अलमुताईरी आफ्नो 'रिस्की मुभ' बाट निर्मित टोलीसँग त्यो सबै कुरा माग्नको लागि हकदार छन् जुन उनलाई आवश्यक छ । उनी यस्तो टोलीको निर्माण अभियानमा छन् कि, त्यो टोली यदि उनले चाहेको खण्डमा मैदानमा आफ्नो ज्यानको बाजिनै लगाइदेओस । प्रशिक्षणको धर्मबाट यो कुरालाई बुझ्ने हो भने अन्यथा लिनु आवश्यक छैन एउटा प्रशिक्षकले टोलीलाई आज्ञाकारी नै बनाउनुपर्छ । यो विश्व फुटबलकै प्रचलन हो ।
प्रतियोगिता पूर्वका जति पनि अभ्यास खेलहरु नेपालले खेल्यो, त्यस खेलमा अलमुताईरीले मिडिया तथा दर्शकलाई अनुमति दिएनन् । बन्द ढोकाभित्र नै सुटुक्क खेल खेलाए । वास्तवमा अलमुताईरीको यो निर्णय अत्यन्त उत्कृष्ट निर्णय थियो । त्योबेला उन्को टोलीले कस्तो प्रदर्शन गर्ला ! सबैलाई चासो थियो । टोलीलाई सेट बनाउने प्रक्रियामा नतिजा नराम्रो आउन सक्थ्यो । मानिसहरु मजाक उडाउन सक्थे । खेलाडी सामाजिक संजालमा ट्रोलको सिकार हुन सक्थे । त्यसले गर्दा खेलाडीको मनोबल गिर्नुका साथै नकरात्मकता झनै फैलिन सक्थ्यो । चौतर्फी आलोचना खेपिरहेको बेलामा बन्द ढोकामा अभ्यास खेल खेलाउने उनको यो निर्णयले 'नवनिर्मित' टोलीका खेलाडीको ध्यान भंग हुन दिएन । ती खेलको नतिजाको बाहिर एकदमै कम कुरा भयो ।
स्वयं अलमुताईरी पनि १० जना सिनियर खेलाडीसँगको विवादपछि भड्किन सक्थे । यसैपनि उनि चांडै प्रतिक्रिया जनाउने गर्छन । समर्थक, मिडिया, खेलाडीको लगातारको आलोचनाले उनी मानसिक रुपमै विछिप्त हुन सक्थे । तर यति प्रतिकुल समयमा पनि जसरि उनले परिस्थितिलाई आफ्नो अनुकुल बनाएर अवस्थालाई नियन्त्रण गरे, यो साँच्चै तारिफयोग्य छ ।
जाबिर अल अहमद स्टेडियममा नेपाल जोर्डनविरुद्ध डटीरहेको थियो । पहिले हाफमा नेपाल रक्षात्मक बन्यो । डेब्यु गरेका गोलकिपर दिप कार्कीले जोर्डनका स्ट्राइकरलाई बारम्बार असफल पारे । उनले पेनाल्टी रोकेपछि नेपाली टोलीको खुसियाली र दिपको 'भाइकिङ्ग' सेलिब्रेसन हेर्दा यस्तो लाग्थ्यो वास्तवमै यो टोली कुनै उदेश्य बोकेर हिडेको छ । पहिलो हाफमा नै दीपले एउटा पेनाल्टी सहित जोर्डनले गरेका करिब आधा दर्जन प्रहारलाई रोकेका थिए । एउटा राम्रो गोलकिपरको छाप उनमा देखिन्छ । डिफेन्समा महत्वपूर्ण साथ उनलाई सुमन अर्यालले दिईरहेका थिए । डेब्यु गरिरहेका विकाश तामाङ, विकाश खवास र गौतम श्रेष्ठले सम्भवत आफ्नो करियरकै उत्कृष्ट खेल देखाए ।
नेपालले आक्रमण त्यति बुन्न सकेन तर मिडफिल्डमा आयुष घलानको जुझारुपन शैलीले धेरैको मन जितेको छ । उनी साँच्चै यस टोलीका 'इन्जिन' हुन् । फिल्ड कभरिङ र मुभमेन्टमा आफ्नो छरितोपनले सबैभन्दा धेरै 'फाउल' जित्ने खेलाडी उनै थिए । पुजन उपरकोटी आफ्नो 'फिजिकालिटि' र 'ट्याकल' को लागि माहिर छन् त्यसैले अलमुताईरीको टोलीमा उनी फिट छन् । सुरज ज्यु ठकुरी आफ्नो स्वभाव अनुरुपनै 'इन्टरसेप्सन' र 'पोजेसन विन' मा ध्यान दिईरहेका थिए । सेसेहाङ आङदेम्बेको 'अफ डे' भएपनि मेहनत भने जारि राखेका थिए । सुरजसँग तालमेल मिलाउनु उनको काम थियो । मनिष डाँगीको सानो सानो रनहरुमा जोर्डनको डिफेन्स शतर्क थियो । उनीसँग पेस छ त्यसको फाइदा कप्तान नवयुगलाई हुने गरेको थियो । विशेषगरि उनी नै नेपालको तर्फबाट विपक्षी हाफमा एकमात्र थ्रेट थिए ।
पहिलो हाफको तुलनामा नेपालले केहि पोजेसन बढाउन खोज्यो । आक्रमणको खोजीमा बलियो स्टामिना भएका जोर्डनका खेलाडीले एक्सपोजर पाए र तुरुन्तै अग्रता लिए । फुल टाइम सम्ममा नेपालले २ गोल 'कन्सिड' गर्यो । तर, २-० को नतिजा नेपालले कुनै गुनासो नराखी स्वीकार्यो । अलमुताईरीको यो 'डिफेन्सिभ मास्टरक्लास' नेपाली फुटबलको इतिहासकै उत्कृष्ट मानिनेछ । सबैभन्दा उत्कृष्ट नभए उत्कृष्टमध्येको एक पक्का । स्कोरकार्डको आधारमा होइन डिफेन्स गरेको शैलीले ।
अब 'यदि १० जना सिनियर खेलाडी भएको भए के हुन्थ्यो ?' यो चिया गफ हुन सक्ला, सामाजिक संजालमा बहसको विषय बन्न सक्ला, तर यथार्थमा यो कहिल्यै तुलनाको लायक हुनेछैन । खेल र खेलाडीबीच तुलना होइन प्रतिष्पर्धा हुन्छ, सम्मान हुन्छ, किनकि पसिना र मेहनतको कुनै फरक रंग हुँदैन ।
तर अहिलेलाई तत्काल यदि तपाइले कसैलाई यो प्रश्न सोध्नु हुन्छ भने उत्तर पाउनुहुनेछ 'सिनियर १० जना भन्दा यी केटाहरुले धेरै राम्रो खेले ।' खासमा नेपाली फुटबल भावनात्मक छ ।
त्यसैले त मैले भनेको हुँ 'नेपालले हार्यो तर अलमुताईरी जिते' ।