विजय युथ सेमिफाइनलमा

काठमाडौं । विजय युथ हेटौडा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–५ स्थितपिप्ले क्याम्पा रंगशालामा बिहीबार नव जनजागृती क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै विजय युथ अन्तिम चारमा स्थान बनाएको हो ।
विजय युथलाई जित दिलाउनका लागि अमिर श्रेष्ठ, सञ्जोक राई र सुनिल घलानले एक-एक गोल गरे ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा विजय युथले तीन गोल गर्यो ।
खेलको ५४ औं मिनेटमा अमिर श्रेष्ठले गोल गर्दै बिजय युथलाई १-० को अग्रता दिलाए । खेलको ६४ औं मिनेटमा सञ्जोक राईले गोल गर्दै विजय युथले अग्रता दोब्बर बनायो ।
खेलको अन्तिम मिनेटमा नव जन जागृतीका साहिदले अमिरलाई डिबक्सभित्र फाउल गरेपछि विजय युथले पेनाल्टी पायो । तर, अमिर टोली अग्रता तेब्बर बनाउने अवसरबाट चुके ।
उनले प्रहार गरेको पेनाल्टी गोल पोष्टको फ्रेममा समेत पर्न सकेन । खेलको निर्धारित ९० मिनेटको समय सकिएपछि अतिरिक्त ४ मिनेट सयम थप गरिएको थियो ।
अतिरिक्त समयमा सुनिल घलानले गोल गर्दै टोलीलाई ३-० को शानदार जित दिलाए ।
विजय युथका सुनिल घलान म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार सहित ट्रफि हात पारे ।
यसअघिको खेलमा नव जनजागृतीले बागमती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै विजय युथसँगको भेट पक्का गरेको थियो ।
घरेलु टोली विजय युथले भने सिधै क्वाटरफाइनलमा स्थान पाएको थियो ।
प्रतियोगितामा देशका शीर्ष क्लबसहित १२ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसँगै १५ लाख रुपैयाँ नगद र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई पनि २५ हजार नगद र ट्रफी प्रदान गरिने छ ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको मोटरसाइकल प्राप्त गर्नेछन् ।












