काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा सानेपा क्लब र स्वयम्भु क्लबले जित निकालेका छन् ।
एन्फा कप्लेक्स सातदोबाटोमा मंगलबार सानेपाले मनोहरा युनाईटेडलाई ३-१ गोल अन्तरले हराएको हो ।
सानेपाको जितमा ओम प्रकाश बोहरा, आश्विन घोराशैनी र खेमराज तामाङले एक एक गोल गरे ।
मनोहराका क्रिजल खड्काले एक गोल फर्काए ।
जितसँगै सानेपाले ८ खेल १६ अंक जोडेको छ ।
सानेपा तेस्रो स्थानमा रहेको छ ।
मनोहरा ९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
अर्को खेलमा स्वयम्भुले ओसिस क्लबलाई १-० ले हराएको छ ।
स्वयम्भुको जितमा ललित गुरागाईले निर्णायक गोल गरे ।
स्वयम्भु ९ अंक जोडेर दशौँ स्थानमा छ ।
ओसिस १ अंक जोडेर पुछारमा रहेको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।