काठमाडौं । उसैपनि फुटबलका राम्रा समाचार कमै आउछन् । नेपालमा फुटबल संघ सबैभन्दा बढी विवादमा पर्ने संघ हो । फुटबलमा विवाद निस्कन खासै कारण पनि चाहिदैन । फुटबलमा विवाद निकाल्ने पात्रको खासै कमी पनि हुदैन । नेपाली फुटबल विवादको पर्याय जस्तै हो । यहाँ विवादको खासै कमी थिएन । त्यसमा अब अलमुताईरी पनि थपिएका छन् । अब्दुल्लाह अलमुताईरी अर्थात राष्ट्रिय टिमका मुख्य प्रशिक्षक । अलमुताईरी अर्थात विवादका नयाँ पर्याय ।
एन्फाका पछिल्ला दुई कार्यसमिति बैठक यिनै अलमुताईरीमाथि बसेको छ । केही समय अघि अलमुताईरीले बिना प्रमाण वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्गलाई सामाजिक सञ्जालमार्फत आरोपित गरेका थिए । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टिमलाई प्रभावित बनाउने डरले अलमुताईरीमाथि कुनै कारबाही भएन । एन्फा कार्यसमित बैठकनै बस्यो । मन्त्रालय र राखेपले छानबिन समिति बनायो । प्रतिवेदन सार्वजनीक भयो । दोष अलमुताईरीकै देखियो । तर साफ फुटबल प्रभावित हुने डरले कसैले ठुलो आवाज गरेनन् ।
अब उनै अलमुताईरीले राष्ट्रिय टिमका १० सिनियर खेलाडीलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका छन् । ‘वान टिम, वान गोल’को नाराबाट सबै खेलाडीलाई जोड्ने उद्घोष गरेका अलमुताईरीसँग अब त्यही वान टिम पनि छैन । टिम नभएपनि अलुमताईरी गोलको खुबै कोशिश गरेका छन् । भारतदेखि अष्ट्रेलियासम्म पुगेका फुटबल खेलाडीलाई राष्ट्रिय टिममा बोलाएका छन् । तर अलमुताईरीको ‘सन्काहा’ स्वभावबाट आजित धेरै खेलाडी बन्द प्रशिक्षकमा बस्न मानेका छैनन । आएका पनि छाडेर हिडेका छन् ।
आईतबारमात्र एन्फाले खेलाडी प्रशिक्षक विवादको छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । हुन त एन्फाको काम फुटबलको नीति बनाउने र त्यसको कार्यान्वयन गर्ने हो । तर अलमुताईरीले एन्फालाई निरन्तर ‘बिजनेश’ दिईरहेका छन् । अनेकल बखेडा निकालेर एन्फालाई ब्यस्त बनाईराखेका छन् । अलमुताईरीलाई जोगाउने र खुईल्याउनेनै अहिले एन्फाभित्र संस्थापन र प्रतिपक्षको काम भैरहेको छ । सिनियर खेलाडीले सामुहिक रुपमा क्याम्प छाड्ने बित्तिकै एन्फाले अलमुताईरीलाई छानविनको दायरामा राख्नुपर्ने हो । तर एन्फाका हर्ताकर्ताको मायाले उदण्ड बनेका अलमुताईरीलाई आफुले गरेका गल्तीको कुनै प्रवाह देखिदैन ।
उनले सुरुमै एसिया कप छनोटमा नेपाल छनोट हुन नसक्ने दाबी गरिसके । महत्वपुर्ण १० खेलाडीलाई राष्ट्रिय टिम बाहिर पठाईसके । बी, सी र देश बाहिरका केही खेलाडी बटुलेर राष्ट्रिय टिम बनाउने तयारीमा उनी छन् । उनीसँग हरेक खेलाडीको विकल्प छ । तर सुरुवातमै लडाँई जित्न नसक्ने उद्घोष गरेका अलमुताईरीलाई प्रश्न गर्ने आँट एन्फासँग छैन । प्रशिक्षकको दाबी अनुसार एसिया कपमा छनोट हुने नेपालको स्तर पुग्दैन पनि होला । तर हामीले अधिकतम नतिजाको कोशिश गर्ने हैन । नत्र हामीलाई अलमुताईरीनै किन चाहियो ?
अलमुताईरी कुनै ठुलो प्रोफाइलका प्रशिक्षक हैनन् । सबैलाई थाहा छ, उनी कतारमा बेरोजगार भएर बसेका थिए । आफ्नै देश कुवेतमा खासै हैसियत नभएका यि कोचलाई पत्याउनुपर्ने कारण पनि त थिएन । राम्रो नतिजाको संकल्प गर्न नसक्ने बेरोजगार प्रशिक्षकलाई हामीले जागिर दिनुपर्ने कारण पनि त छैन ?
एउटा विश्वास हो ।
कुवेती कोचले राम्रो गर्लान् भन्ने विश्वास बाहेक उनीसँग अरु के नै छ र ? तर उनले एसिया कपको छनोट खेल्नु अघिनै हात उठाए । खेलाडीहरु निकाले । जुनियर खेलाडीको भिड जम्मा गरेर उनी सिनियर खेलाडीमाथि आफ्नो कुण्ठा र रिस साँध्न खोजेका छन् । यही अवस्थामा उनको कुन्ठाको भाँडो त एसिया कपको छनोट खेल्दा देखिनै हाल्छ । तर अहिले एन्फालाई फुटबल सम्हाल्ने कि अलमुताईरी सम्हाल्ने भन्ने गाह्रो परिरहेको छ । भुँईमा लडेका अलमुताईरीलाई टिप्न खोज्दा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको गोजीमा रहेको नेपाली फुटबल पोखिएला भन्ने डर सबैलाई छ ।
नेपाललाई त सिमित स्रोत साधानमा असम्भव लाग्ने नतिजा निकाल्न प्रयास गर्ने प्रशिक्षक चाहिएको हो । समस्यालाई अवसरमा बदल्ने प्रशिक्षक चाहिएको हो । तर एकपछि अर्को विवाद निकालेर फुटबललाई अस्थिर बनाउने प्रशिक्षक चाहिएको हैन । नेपाली फुटबलमा विवादको कमी छैन । समस्याको कमी छैन । सन्काहा अलमुताईरीहरुको कमी नि छैन । तर देशलाई समाधान दिने प्रशिक्षक चाहिएको हो । फुटबल बनाउन कोशिश गर्ने अलमुताईरी चाहिएको हो ।