अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

काठमाडौं। इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सले अबदेखि खेल होस् वा अभ्यासमै किन नहोस् ब्याटिङ गर्दा अनिवार्य रूपमा हेल्मेट लगाउने निर्णय गरेका छन्।
यही महिनाको सुरुमा अभ्यासका क्रममा बल अनुहारमा लागेर गम्भीर घाइते भएपछि उनले यस्तो प्रतिज्ञा गरेका हुन्। स्पिनरविरुद्ध ब्याटिङ गर्दा हेल्मेट नलगाउने चलनबारे प्रश्न उठाउँदै स्टोक्सले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘स्पिनर बलिङ गर्दा हेल्मेट नलगाउने कुरा मैले कहिल्यै बुझेको छैन।’
उनले आफूले पनि यसअघि थ्रोडाउन अभ्यासका बेला हेल्मेटबिना ब्याटिङ गर्ने गरेको स्वीकार्दै पछिल्लो दुर्घटनापछि भने अब कहिल्यै हेल्मेट नछोड्ने स्पष्ट पारे। उनले क्रिकेट बलले गम्भीर क्षति पुर्याउन सक्ने चेतावनीसमेत दिएका छन्।
डरहमको नेट अभ्यासका क्रममा एउटा बल सिधै उनको अनुहारमा लागेको थियो। उक्त घटनामा उनको गाला, नाक र आँखामा चोट लागेको थियो भने गालाको हड्डीसमेत भाँचिएको थियो।
त्यसपछि उनको शल्यक्रिया गरिएको थियो। ५ फेब्रुअरीमा उनले अस्पतालको शय्याबाट तस्बिर सार्वजनिक गर्दै शल्यक्रिया सफल भएको जानकारी दिएका थिए। तस्बिरमा उनको दाहिने आँखामुनि कालो डाम र गालामा सानो टाँकाको दाग देखिएको थियो।
सन् २०२३ को एकदिवसीय विश्वकपपछि उनी इङ्ल्यान्डको सेतो बल (ह्वाइट–बल) टोलीमा समावेश छैनन् र जारी टी–२० विश्वकपमा पनि टोलीबाहिर छन्। समूह चरणमा इङ्ल्यान्डले तीनमध्ये दुई खेल जितेको छ।
स्टोक्स आगामी जुनमा न्युजिल्यान्डविरुद्ध घरेलु मैदानमा हुने टेस्ट शृंखलाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किन सक्ने अनुमान गरिएको छ। त्यसअघि उनले काउन्टी च्याम्पियनसिपमा डरहमबाट खेल्ने सम्भावना रहेको छ।





%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)

-1771139095251.jpeg&w=3840&q=75)


